जमुनाको ढापपोखरीमा डुंगा सञ्चालन, पर्यटक बढ्न थाले • Image Khabar Image Khabar


जमुनाको ढापपोखरीमा डुंगा सञ्चालन, पर्यटक बढ्न थाले


Imagekhabar
१० फाल्गुन २०७४, बिहीबार १०:०३

जमुनाको ढापपोखरीमा डुंगा सञ्चालन, पर्यटक बढ्न थाले

पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुंगा चलाउन थालिएको हो । पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबेढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुंगा सञ्चालनमा ल्याएको समितिका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिए ।

जिल्लाकै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको यस पोखरीको विस्तार गर्न विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । सदरमुकामबाट २१ किमी उत्तरतर्फ रहेको यो पोखरी स्थानीयवासीको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण अढाइ वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भएको हो ।

क्षेत्रफलका हिसाबले जिल्लाकै ठूलो मानिएको पोखरी ५० रोपनीमा फैलिएको छ । पोखरी विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकता अनुसार क्षेत्रफल बढाउन सकिनेछ । डुंगामार्फत पोखरीको सबै क्षेत्र घुम्न आधाघण्टा भन्दा बढी लाग्ने समितिले बताएको छ ।

विसं २०७२ वैशाख १ गतेदेखि पोखरी संरक्षणको काम थालिएको हो । दलदल र सिमले भरिएको उपत्यकाजस्तो क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलो माटो र ढुंगाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत बाँध बनाइएको छ । यहाँ डुंगा सञ्चालन थालिएपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आवतजावत गर्ने पर्यटक पनि पुग्ने गरेका छन् ।

फरक विशेषता भएको पोखरीमा विभिन्न किसिमका चरा पाईने गरेको स्थानीयको भनाइ छ । पोखरीमा माछापालन थालिएपछि आगन्तुकका लागि आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुङ्गीसमेत पोखरीमा आउने गरेका छन् । पोखरी आसपास लोपोन्मुख सुन गोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छन् ।

आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएकाले सडकको अवस्था सुधारलाई प्राथमिकता दिइएको सन्दकपुर गाउँपालिका प्रमुख उदय राईले बताए । ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयवासीले होमस्टे सञ्चालनको तयारी गरेका छन् । अहिले पनि त्यस क्षेत्रका घरमा ५० जनासम्म अतिथिलाई खाने, बस्ने व्यवस्थाको चाँजोपाँजो मिलाइएको छ ।

पोखरी विस्तारसँगै पर्यटन गन्तव्य निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति, जिल्ला भू–संरक्षण कार्यालयले सघाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्