
ताप्लेजुङ, फागुन १० । ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथीको मोटरेवल पुल निर्माणको कामले तिव्रता पाएको छ ।
सम्झौताअनुसार ठेकेदारले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्यले पछिल्लो समय तिव्रता पाएको हो । अहिले यो पुल निर्माणको करिब ७० प्रतिशत काम पूरा भएको छ ।
बाँकी ३० प्रतिशत काम यो महिनाभित्रै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । गत माघ ४ गतेदेखि २५ जना कामदारले पुल जडानको कार्य गरिरहेका छन् ।
पुल जडानको काम सकिएपछि ठेकेदार कम्पनीले ढलानको काम सुरु गर्ने बताइएकोे छ ।
अढाई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०६६ सालमा कन्काई, मैनाचुली र याक्थुङ्हाङ गरी तीन वटा निर्माण कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग करिव १० करोडको लागतमा पुलको निर्माण सम्झौता गरेका थिए ।
तमोर करिडोरअन्तर्गत पर्ने यो पुल समयमा निर्माण नहुँदा जिल्लाका दुई निर्वाचन क्षेत्र सडक सञ्जालले जोडिन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्