प्रतिनिधि र राष्ट्रियसभा बैठकको तयारी तीव्र (भिडियो) • Image Khabar Image Khabar


प्रतिनिधि र राष्ट्रियसभा बैठकको तयारी तीव्र (भिडियो)


Imagekhabar
१० फाल्गुन २०७४, बिहीबार १६:०५

प्रतिनिधि र राष्ट्रियसभा बैठकको तयारी तीव्र (भिडियो)

संविधानको नयाँ व्यवस्थाअनसार फागुन २१ गते नयाँबानेश्वरस्थित संघीय संसद भवनमा छुट्टा–छुट्टैरुपमा बस्ने दुवै सदनको बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।

सभाकक्षको भौतिक तयारी सकिसकेको सचिवालयले पहिलो दिनको बैठकले के गर्नेलगायतका संसदीय अभ्यासका विधिहरुको तयारी गरिरहेको छ ।

वि.सं. २०४७ सालको संविधानबमोजिम दुई सदनात्मक संसदको अभ्यास गर्ने गरिएको भएपनि मुलुक संघीय शासन व्यवस्थामा गएपछि पहिलोपटक तल्लो सदन र माथिल्लो सदनको अभ्यास हुनलागेको हो ।

२१ गते संसदको पहिलो बैठक बस्ने भएपछि फागुन २० का लागि सांसदहरुको शपथग्रहणको समय मिलाइएको छ ।

संविधानबमोजिम दुवै सदनका ज्येष्ठ सदस्यले सबैभन्दापहिले राष्ट्रपतिबाट शपथ लिनेछन् । त्यसपछि सोही दिन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई अलग–अलग नयाँबानेश्वरस्थित संघीय संसद भवनमा नै शपथ गराइनेछ ।

सचिवालयका प्रवक्ता भरत गौतम बैठक तयारीको अन्तिम चरणमा रहेको बताउँछन् ।

संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष चयन भइसक्नुपर्ने व्यवस्था संविधानमा छ । जसअनुसार चैत ५ गतेभित्र दुवै सदनले आफ्नो नेतृत्व चयन गरिसक्नुपर्नेछ ।

सचिवालयले यो हप्ताभित्रै संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग परामर्श गरेर यसबारे प्रक्रिया अघि बढाउने तयारी गर्दैछ ।

संविधानले नै सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्ष फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था गरिदिएकाले पनि संसद बसेको हप्ता, १० दिनभित्रै नेतृत्व चयन गर्नुपर्ने देखिन्छ ।

सचिवालयाका प्रवक्ता गौतम अन्तरिम कार्यविधि निर्माण, नियमावली निर्माण समिति, सभामुख र उपसभामुख निर्वाचन, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मतलगायतका विषय संसदको प्राथमिकतामा रहेको बताउँछन् ।

संविधान कार्यान्वयनको महत्वपूर्ण काम गर्ने निकाय संसदले आफ्नो कामलाई तीव्रगतिमा अघि बढाउनुपर्ने अवस्था छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्