
बिहीबार भएका आ–आफ्नो खेलमा जित हासिल गर्दै दुवै टिम अन्तिम चारमा पुगेका हुन् ।
बिहीबार भएको पहिलो खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित् २० ओरभमा ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।
मध्यमाञ्चलका लागि सीता श्रेष्ठले सर्वाधिक ४९ रन बनाइन् । कन्चन श्रेष्ठले २४ र रोशनी बोहराले १० रनको योगदान दिए ।
११४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पश्चिमाञ्चलले २० ओरभरमा ७ विकेट गुमाउँदै ६९ रनमात्रै बनाउन सक्यो । पश्चिमाञ्चलका लागि नितु भण्डारीले १० र वर्षा रानाले ८ रन बनाए ।
पश्चिमाञ्चललाई सस्तैमा समेट्नेक्रममा अश्वीनी कर्माचार्य र आरती विराडीले समान २/२ विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ मध्यमाञ्चलकी सीता श्रेष्ठ घोषित भइन् ।
सशस्त्र अन्तिम चारमा
प्रतियोगिताअन्तर्गत् बिहीबारै भएको दोस्रो खेलमा सशस्त्रले पूर्वाञ्चललाई ४ विकेटले हराउँदै अन्तिम चारमा स्थान बनायो ।
टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले २० ओभरमा ५ विकेट गुमाउँदै ६४ रनमात्रै बनाएको थियो ।
पूर्वाञ्चलका लागि कप्तान रुबिना क्षत्रीले २७ रन बनाउनबाहेक अरुले दोहोरो अंकसमेत छुन सकेनन् ।
बलिङतर्फ सशस्त्रकी सोनु खड्काले २ विकेट लिइन् ।
जवाफमा सशस्त्रले निकै खराब सुरुआतका बाबजुद् पनि ४ विकेटको जित दर्ता गर्न सफल भएको हो ।
पूर्वाञ्चलकी कप्तान क्षत्रीको कसिलो बलिङकासामु सशस्त्रको पारी धरमराएको थियो । ७ रनमै ५ विकेट गुमाएको सशस्त्रको पारी करुणा भण्डारी र ममता चौधरीले छैटौं विकेटका लागि २२ रनको साझेदारी गर्दै सम्हालेका थिए ।
सातौं विकेटका लागि भण्डारीसँग इन्दु बर्माले ३७ रनको साझेदारी गरेपछि सशस्त्र विजयी भयो । भण्डारी, चौधरी र बर्माले समान १६/१६ रनको योगदान दिए ।
पूर्वाञ्चलकी क्षत्रीले ३ विकेट लिएपनि आफ्नो टिमलाई जिताउन सकिनन् । खेलको ‘प्लेयर अफ दी’ म्याच सशस्त्रकी करुणा भण्डारी घोषित भइन् ।
प्रतिक्रिया दिनुहोस्