२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आफैंले तोकेको मापदण्डविपरीत सरकारको भूमिका !


0
Shares

काठमाडौं, मंसिर १६ । नौ महिना अघि गठन भएको केपी ओली नेतृत्वको सरकारले आफैँले तयार पारेको मापदण्ड पालना नगर्नेमात्रै होइन, बेवास्ता गर्ने वा उल्टाउने समेत गर्न थालेको छ ।

एनजीओ/आईएनजीओको बढ्दो दबदबाले काम गर्न गाह्रो भएको ठहर गरेको सरकारले आफ्नै मापदण्ड उल्टाउँदै एउटा आईएनजीओ, त्यो पनि धर्म परिवर्तनमा सक्रिय संस्थाको कार्यक्रममा भव्य सहभागिता जनाएको छ ।

सिण्डिकेट तोड्ने, सुन काण्डका अपराधी समाउने, विकास निर्माणका काममा ठेकेदारको लापरवाही भए कारवाही गर्ने, निर्मला हत्या काण्डका अपराधी सार्वजनिक गर्ने लगायतका घटनालाई सरकारले अहिलेसम्म टुंगोमा पुर्‍याउन सकेको छैन । यस सँगसँगै सरकारले नेपालमा एनजीओ/आईएनजीओको बढ्दो प्रभाव घटाउने र गलत देखिएकाजतिलाई कारवाही गर्ने पनि बताएको थियो । कतिपय गैर सरकारी संस्थाले विकास सहयोगका नाममा धर्म परिवर्तनको गर्ने गराउने काम गरेको ठहर पनि सरकारको थियो ।

सोही उद्देश्यले सरकारले सदाचार नीति पनि तयार पारेको थियो जुन सार्वजनिक समेत नभई तुहिईसकेको छ ।

तर आफ्नै ठहर र मापदण्ड विपरित अहिले सरकारले एसिया प्यासिफिक सम्मेलनमा भव्य सहभागिता जनाएको छ । पहिला सह˗आयोजक नै बनेको नेपाल सरकारले व्यापक आलोचनापछि आयोजकबाट हात झिकेको बताएको थियो । तर नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका उच्च पदस्थ अधिकारीको सहभागिता र व्यवस्थापन हेर्दा यो नेपाल सरकारले नै आयोजना गरेसरहको छ । 

आयोजक संस्थाका विगत र वर्तमान तथा सम्मेलनका औपचारिक तथा अनौपचारिक कार्यक्रम हेर्दा निकै विवादास्पद छन् । आयोजक संस्था युनिभर्सल पीस फेडरेसनकी संरक्षक क्रिश्चियन धर्मगुरु हाक जा मुनले शनिबार उद्घाट्न समारोहलाई सम्बोधन गर्दै पटक पटक आफू जिसस क्राइस्टकी एक्ली छोरी भएको दाबी गरिरहिन् । कोरियन भाषाको उनको सम्बोधन क्रिश्चियन धर्मको ब्याख्यामा केन्द्रीत थियो । तर प्रधानमन्त्री केपी ओलीसहित नेपालको राज्य संयन्त्रका विशिष्ट ब्यक्तिहरु नतमस्तक हुँदै ताली बजाईरहे । 

शान्ति सम्मेलनको लेपन लगाउन खोजिए पनि नेपाली जनताले त्यसलाई पत्याएनन् । त्यसैले सो सम्मेलन तथा त्यसका आयोजकहरुका बारेमा सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा सडकमा समेत चर्को विरोध भईरहेका छन् । तर नेपाल सरकार भने आफ्नै मापदण्ड विपरित आईएनजीओको कार्यक्रममा सक्रिय छ, जसले सरकार आफैँले आरोप लगाउदै आएजस्तो ‘आईएनजिओको नाममा धर्म परिवर्तनको काम’ समेत गर्दै आएको छ ।

भिडियो रिपोर्ट