
६ वर्षसम्म बन्द रहि गत वैशाखदेखि पुनः सन्चालनमा ल्याइएको औषधि लिमिटेडले दोस्रो उत्पादन सिटामोल बजारमा ल्याउन थालेको हो ।
१० वर्षे कार्ययोजना लिएर पुनः सन्चालनमा आएको बबरमहलस्थित नेपाल औषधि लिमिटेडले फागुन महिनाभित्र सिटामोल बजारमा पठाउने भएको छ ।
गत वैशाखमा जीवनजलबाट उत्पादन सुरु गरेको कम्पनीले बल्ल आफ्नो दोस्रो उत्पादन ल्याउन लागेको हो । कम्पनीले ८० हजार ट्याबलेट सिटामोलको परीक्षण उत्पादन गरेको छ ।
कम्पनीका महाप्रबन्धक डा. रोभसकुसन सुवेदीले उत्पादन गरिएका सिटामोल परीक्षण गर्ने तयारी गरिसकेको र अब छिट्टै नै बजारमा पठाउने तयारी गरेको बताए ।
कम्पनी सुरु भएको १० महिनामा ६ करोड ४८ लाख रुपैयाँ रकम खर्च भइसकेको छ । नयाँ ८ ओटा मसिन, जीवनजल र सिटामोल उत्पादनमा पैसा खर्च गरिएको कम्पनीले जनाएको छ ।
४८ प्रकारका औषधि उत्पादन गर्ने योजनासहित पुनः सुचारु गरिएको कम्पनीले हाल ट्याबलेटमात्र उत्पादन गर्नसक्छ । झोल औषधि उत्पादनका लागि पूर्वाधार तयार भइनसकेको सुवेदीले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा वार्षिक १३ करोड सिटामोल ट्याबलेट खपत हुने गरेको छ ।
औषधि लिमिटेडसँग भने वार्षिक १० करोड ट्याबलेटमात्र उत्पादन गर्ने क्षमता रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्