काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसभित्र पार्टीको आन्तरिक निर्वाचन प्रणालीलाई एकल संक्रमणीय आधारमा गर्ने गरी विधानमा व्यवस्था गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।
केन्द्रीय समितिमा जारी विधान मस्यौदा समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिंदै केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन् । प्रत्यक्ष निर्वाचन प्रणालीले पार्टीमा एउटा समुहको मात्र प्रभुत्व हुने र त्यसले पार्टीलाई कमजोर बनाउने काम गर्दै आएको भन्दै आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले एकल संक्रमणीय निर्वाचन प्रणालीको वकालत गरेका हुन् ।
केन्द्रीय सदस्यहरुले हाल कायम रहेको क्रियाशील सदस्यता प्रणालीलाई पनि कायम राख्न माग गरेका छन् । केही केन्द्रीय सदस्यले केन्द्रीय समितिको आकार बढाउँदा पदाधिकारी संख्या पनि थप गर्नुपर्ने माग गरेका छन् ।
भूगोल र जनसंख्याको आधारमा मात्र नभई पार्टी सदस्यताको आधारमा समितिहरुमा प्रतिनिधित्व हुने व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।
आजको बैठकमा केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे, श्याम घिमिरे, अर्जुन जोशी, फरमुल्लाह मन्सुर लगायतले धारणा राखेका थिए । बैठक भोलि पनि बस्नेछ ।









प्रतिक्रिया दिनुहोस्