
काठमाडौं । अमेरिका र चीनबीच नयाँ व्यापारिक कर नलगाउने सहमति भएको छ ।
जी–ट्वेन्टी सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अर्जेन्टिनामा भएको साढे दुई घण्टा लामो भेटवार्तामा अब दुवै देशले एकअर्कामाथि नयाँ व्यापारिक कर नलगाउने सहमति भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुई नेताबीच आगामी जनवरी १ देखि नयाँ कर थप नगर्ने सहमति भएको हो । दुई देशबीचको वार्ता जारी राख्ने सहमतिसमेत भएको बताइएको छ ।
भेटवार्ताका क्रममा दुवै देशका नेता सहकार्य गरेर अघि बढ्ने विषयमा एकमत भएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
अमेरिका र चीनबीच पछिल्लो समयमा व्यापार युद्धको अवस्था थियो । तर दुई नेताबीच भएको भेटवार्ताले नयाँ सहमति विकास भएको हो ।
यो वर्षको सुरुदेखि नै भएको अमेरिका र चीनबीचको व्यापार युद्धपछिको दुई नेताबीच भएको यो पहिलो भेटवार्ता हो ।
यसअघि अर्जेन्टिनाको राजधानीमा डिनरपछि भएको भेट निकै राम्रो रहेको ट्रम्पका सल्लाहकार ल्यारी कुड्लोले बताएका थिए ।
अमेरिकाले चिनियाँ सामानमा कर बढाएपछि त्यसको जवाफमा चीनले पनि अमेरिकी सामानमा कर बढाउँदै आएको छ ।
दुई देशबीचको व्यापारिक टकरावका कारण विश्वव्यापी आर्थिक गतिविधिमा नै असर परिरहेका बेला दुई नेताको भेट र सहमतिले नयाँ सम्भावनाको ढोका खोलेको विज्ञले बताएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्