१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, उनले के भने ? (भिडियो)


0
Shares

सोमबार जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले चौधरीलाई थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला अदालत कैलालीका श्रेष्तेदार इन्द्रबहादुर कठायतकाअनुसार अदालती बन्दोबस्तको ११८ नम्बरअनुसार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो ।

अदालतको आदेशपछि उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेर बा१ज ६९५३ नम्बरको प्रहरीभ्यानमा हालेर लगेको थियो ।

यो मुद्दाको अब अर्को पेसी यही फागुन १६ गतेलाई तोकिएको छ ।

चौधरीमाथि कर्तव्य ज्यान, डाँकाचोरी र ज्यानमार्ने उद्योग गरी तीनओटा मुद्दा लगाइएका छन् ।

सोमबार सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी, सहायक न्यायाधिवक्ता भानदेश जोशी र नवीन भट्टले बहस गरेका थिए ।

जाहेरीवालाका तर्फबाट वरिष्ठ अभिवक्ता राजेन्द्रबहादुर साउदले बहस गरे ।

प्रतिवादीका तर्फबाट अधिवक्ता गंगाराम पाध्यय, मिलनकुमार राई, गजेन्द्रबहादुर केसी र नाथीराम महतोले बहस गरेका थिए ।

अदालतको सो आदेशपछि प्रतिक्रिया दिँदै चौधरीले आफूले अदालतको सम्मान गर्ने बताए । तर, ‘यो आदेशले ३४ हजार मतदाताको कतै अपमान भयो कि ?’ भन्ने महसुस भएको बताए ।

भिडियो हेर्नुहोस्

उनले सोमबारै जिल्ला अदालत कैलालीमा आत्मसर्मपण गरेका थिए । बिहान ११ बजेर १४ मिनेटमा उनले अदालतसामु आत्मसर्मपण गरेका हुन् ।

टीकापुर घटनाका आरोपी रेशम चौधरी प्रहरीको फरार सूचीमा रहेका थिए । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर–१ बाट राजपा नेपालका तर्फबाट भारी मतान्तरले निर्वाचित भएका थिए ।

प्रहरीको फरार सूचीमा भएपनि चौधरीले लुकिछिपी चुनावको प्रचार–प्रसार गरेका थिए । चुनाव जितेपछि उनले जनताले सिंहदरबारको ढोका आफ्ना लागि खोलिदिएको प्रतिक्रिया दिँदै आएका थिए ।

के भन्छन् टीकापुर घटनाका पीडित ?
रेशम चौधरी कैलालीको टीकापुरका स्थानीयवासी हुन् ।

वि.सं. २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेकाबेला डेढ वर्षीय नाबालकसहित ८ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । उक्त घटनाका मुख्य योजनाकारकारुपमा प्रहरीले उनलाई लिएको छ ।

टीकापुर घटना घटेको तीन वर्ष बित्न लाग्दासमेत आफूहरुले न्याय नपाएको गुनासो पीडितहरुले गरिरहेका छन् ।

‘सार्वजनिक सभामा नेताहरुले गर्ने भाषण सुन्दा यो न्याय हराएको देश हो किजस्तो लाग्छ’–टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहराले भनिन्–‘खोइ हामीले के न्याय पाउँला र ? सरकारले सहिद घोषणा गर्ने, सेवा–सुविधा दिनेजस्ता लोभ देखाएर न्यायको ढोका बन्द गर्न खोजिरहेको छ ।’

‘राज्यसँग हामीले सेवा–सुविधा मागेका छैनौं उनले भनिन्–‘राज्यले न्याय देओस् ।’

‘नाति अखन्ड सुदूरपश्चिम जान्दैन थियो, न त थारुवान–थरुहट भनेको बुझ्थ्यो’–टीकापुरमा हत्या गरिएका २ वर्षीय बालक टेकबहादुर साउदका बाजे जंगबहादुर साउदले भने–‘आमाको दूधमात्रै खान जान्ने बालक किन मारियो ?’

उनले अगाडि भने–‘सहिद घोषणालेमात्रै पीडा सेलाउँदैन । दोषीलाई कारबाही भएको देखूँ । मेरो नाति कुनै पक्षको आन्दोलनमा सहभागी भएको भए भन्नुपर्‍यो । झडप भएको एक घन्टापछि मेरो नाति किन मारियो हाम्रो प्रश्न हो ।’

सहिद घोषणा गरेर कुनैपनि आमाको कोख रित्तिएको पीडा ठीक नहुने बताउँदै हत्या गरिएका बालक टेकबहादुरकी आमा यशोदा साउदले भनिन्–‘जतिबेला ती हत्यारालाई कारबाही हुनेछ, मेरो कोखको जलन ठीक हुनेछ ।’