
प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, मंसिर १५ । ‘एचआइभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं भन्ने नारासहित ३१औं विश्व एड्स दिवस शनिबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमा झन्डै ३१ हजार व्यक्तिमा एचआइभी संक्रमण रहेको अनुमान गरिएको छ ।
असुरक्षित यौनसम्पर्क गर्ने, सुइको प्रयोग गरी लागुऔषध सेवन गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी, रोजगारीका लागि विदेशिने र जेलका कैदीहरु एचआइभी संक्रमणको उच्च जोखिममा रहेका छन् ।
लामो समयसम्म ज्वरो आउने, खोकी लाग्नु, बारम्बार झाडापखाला लाग्ने, क्षयरोगजस्ता लक्षणहरु देखापर्छ ।
यस्तो लक्षण एचआइभीको संक्रमण भएको दुईदेखि १५ वर्षपछि पनि देखा पर्नसक्ने चिकित्सकहरु बताउँछन् ।
एड्स अर्थात् एक्वार्ड इम्युनो डिफिसिएन्सी सिन्ड्रोमको एचआइभी भाइरस संक्रमित व्यक्तिको रगत र त्यो व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गर्ने व्यक्तिमा सर्ने गर्छ ।
यस्तै, एचआइभी संक्रमित महिलाको स्तनपानको माध्यमबाट बच्चामा पनि सर्ने गर्छ ।
यो भाइरस मानव शरीरमा प्रवेश गरेपछि शरीरको रोगसँग लड्नसक्ने क्षमता निर्भर रहने सेता रक्तकोषलाई विस्तारै नस्ट गर्न थाल्छ ।
शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा सामान्य रोगले आक्रमण गर्ने सम्भावना उच्च रहन्छ ।
तर, एचआइभी भएको थाहा हुनेबित्तिकै औषधि सेवन गर्ने हो भने यो रोग अरुमा सर्न पाउँदैन र संक्रमित व्यक्ति लामो समयसम्म बाँच्न सक्छन् ।
नेपालमा १९ हजार पुरुष र १२ हजार महिला एचआइभी संक्रमित रहेको अनुमान गरिएको छ ।
तीमध्ये १६ हजार ४२८ जना उपचारमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ ।
सरकारले सन् २०२० सम्ममा ९० प्रतिशत व्यक्तिलाई उपचारको दायरामा ल्याउने र शरीररमा भाइरसको भार न्यून बनाउने उद्देश्य लिएको छ ।
विश्वव्यापीरुपमा हेर्ने हो भने विगत सात वर्षको अवधिमा यसको संक्रमण १६ प्रतिशतले घटेको छ ।
नेपालमा भने ६१ प्रतिशले घटेको र ६३ प्रतिशत बच्चामा हुने नयाँ संक्रमणमा कमी आएको केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले दाबी गरे ।
संक्रमित व्यक्तिलाई परिवारको भरपुर साथ र सहयोग तथा नियमित औषधि सेवन गर्न लगाउने हो भने उनीहरुको जीवनलाई लम्ब्याउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्