१ असार २०८२, आइतबार | Sun Jun 15 2025


मासिक ४० हजारदेखि ४० लाख रुपैयाँसम्म तलव लिएर नेपालमा जागिर खाँदै विदेशीहरु


0
Shares

उनीहरुले पठाएको पैसा (रेमिटेन्स) ले नै देश चलेको छ । तर धेरैलाई थाहा छैन, जसरी नेपाली राजगारीको सिलसिलामा विदेशिन्छन्, त्यसरी नै केही विदेशीलाई नेपालले पनि आकर्षित गर्ने गरेको छ ।

सुन्दा आश्चर्य लाग्न सक्छ, रोजगारका लागि नेपालीहरु धमाधम विदेशिरहेका बेला रोजगार खोज्दै नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ । श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीको संख्या यो वर्ष ह्वात्तै वृद्धि भएको छ ।

‘श्रम स्वीकृति लिएर नेपालमा काम गर्ने विदेशीको संख्या बढ्दो छ,’ श्रम विभागका निर्देशक वरुणकुमार झाले भने, ‘विना श्रम स्वीकृति अवैध तरिकाले कोही विदेशीले पनि यहाँ काम नगरुन् भनेर सबैलाई श्रम कानूनको दायरामा ल्याउने प्रयासमा हामी छौं ।’

श्रम विभागको तथ्यांकअनुसार २०७४ वैशाख १ गतेदेखि माघ मसान्तसम्म २ हजार ३ सय ७० विदेशीले श्रम स्वीकृति लिएका छन् । यो संख्या नेपालमा काम गर्ने भारतीयबाहेक हो । थोरै अवधिमा यतिधेरै विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएको यो पहिलोपटक हो ।

मासिक २० हजार कमाउन नेपाली युवा मलेसिया तथा खाडी मुलुकमा भौतारिरहँदा नेपालमा काम गर्ने विदेशीले भने मासिक ४० हजार रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गर्छन् ।

नेपालमा सबैभन्दा कम तलव बुझ्ने विदेशी कामदारमा जलविद्युत परियोजनामा काम गर्ने चिनियाँ छन् । बढी पारिश्रमिक बुझ्नेमा अमेरिकी तथा युरोपेली छन् । अमेरिकी तथा युरोपेली सहयोगमा नेपालमा सञ्चालित संस्थामा का मगर्ने ती मुलुकका नागरिकले ४० लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गर्छन् । –नागरिक दैनिकबाट