
काठमाडौं, फागुन १६ । वाम गठबन्धन संविधान संशोधन गर्न तयार भएपछि संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने भएको छ ।
आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न वाम गठबन्धन तयार भएपछि फोरम सरकारमा जान सहमत भएको हो ।
दुई तिहाई बहुमतसहितको सरकार बनाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनापछि एमाले संविधान संशोधनमा तयार भएको हो ।
यस विषयमा दुई दलका शीर्ष नेताहरुबीच हिजो विभिन्न चरणमा छलफल भएका छन् । छलफलमा भएका सहमतिका बुँदालाई लिपिबद्ध गरी दुवै दलका शीर्ष नेताहरुले हस्ताक्षर गर्ने तयारी भएको छ ।
सम्भवतः आजै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरमबीच सहमतिपत्रमा हस्ताक्षर हुनसक्ने नेताहरुले बताएका छन् । लिखित सहमतिमा हस्ताक्षर भए फोरम सरकारमा जाने छ ।
अहिलेसम्म भएका छलफल सकारात्मक भएको र यसले मूर्त रुप लिने सम्भावना नै बढी भएको नेताहरुले दाबी गरेका छन् ।
दुई दलका नेताहरुले संविधान संशोधनका विषयमा आ–आफ्नो पक्षबाट मस्यौदा बनाइरहेको बताइएको छ । कुन बुँदामा संसोधन गर्ने भनेर दुवै पक्षले खुलाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्