‘पत्रकारको न्यूनतम् पारिश्रमिक वृद्धिको तयारी’ • Image Khabar Image Khabar


‘पत्रकारको न्यूनतम् पारिश्रमिक वृद्धिको तयारी’


Imagekhabar
१६ फाल्गुन २०७४, बुधबार १४:२९

‘पत्रकारको न्यूनतम् पारिश्रमिक वृद्धिको तयारी’

न्यूनतम् पारिश्रमिक निर्धारण समितिको आयोजनामा ‘श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक’ बुधबार नुवाकोटको विदुरमा आयोजित अन्तरक्रियामा समितिका अध्यक्ष गंगाधर पराजुलीले हाल कायम रहेको न्यूनतम् पारिश्रमिक कम भएको र सुझाव संकलनकाक्रममा पत्रकारबाट बढाउन माग उठेकाले परिमार्जनसहित वृद्धि गर्न लागिएको जानकारी दिए ।

‘अहिले कायम रहेको पारिश्रमिक २०७२ सालमा गठित समितिले दिएको सुझावको आधारमा २०७३ साउन १ गतेदेखि लागू भएको छ’–अध्यक्ष पराजुलीले भने–‘पछिल्लो दुई वर्षमा नेपाल सरकारका कर्मचारीको तलब २५ प्रतिशतसम्म वृद्धि भइसकेकाले पत्रकारको सुविधा पनि पुनरावलोकन तथा वृद्धिको बाध्यात्मक अवस्था छ, त्यो छिट्टै गर्न लागिएको छ ।’

श्रमजीवी पत्रकार ऐनअनुसार अहिले राष्ट्रिय सन्चारमाध्यममा कार्यरत् पत्रकारको पारिश्रमिक रु १९ हजार ५०० र अन्य सन्चारमाध्यममा रु १४ हजार १०० कार्यान्वयनमा छ ।

समितिले सन्चारमाध्यममा आवद्ध पत्रकार र कर्मचारीको पारिश्रमिक निर्धारणका लागि स्थलगत र विज्ञ समूहमार्फत् सुझाव संकलन गरी प्रतिवेदनमार्फत् सरकारलाई ऐन कार्यान्वयन गराउन सुझाव दिन लागिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीले बताए ।

‘पत्रकारको सेवा र सुविधा बढाउन महासंघका केन्द्रीय पदाधिकारीलाई मिडिया सन्चालक बन्न रोक लगाएका छौं’–उनले भने–‘यो व्यवस्था जिल्लासम्म पुर्‍याउन लागेकाले स्वच्छ श्रमजीवीको थलो महासंघ भएमा न्यूनतम् पारिश्रमिक कार्यान्वयनमा सहजता आउनेछ ।’

अन्तरक्रियामा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवचन्द्र भट्ट, प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य शिव देवकोटा, प्रेस चौतारीका जिल्ला अध्यक्ष भोलाराज पौडेल, त्रिशूली प्रवाहका प्रकाशक शरणउत्सुक सापकोटाले सन्चारमाध्यमलाई पत्रकारको खाँचो र पत्रकारले रोजगार पाउन नसक्नुबीचको खाडल अन्य गर्न न्यूनतम् पारिश्रमिक कार्यान्वयनले सहयोग पुग्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्