प्रधानमन्त्री ओली आफ्नै रचनामा रमाउँदा... • Image Khabar Image Khabar


प्रधानमन्त्री ओली आफ्नै रचनामा रमाउँदा…


Imagekhabar
१६ फाल्गुन २०७४, बुधबार १६:४०

प्रधानमन्त्री ओली आफ्नै रचनामा रमाउँदा...

ती गीतका पंक्तिहरु संगीतका धुनमा गुन्जिएसँगै खुला चौरमा रातो, नीलो र पहेलो टिसर्ट र नीलो ट्रयाकसुटमा युवा–युवतीले आफ्नो कला प्रदर्शन सुरु गरे ।

ती जीवन्त गीतका स्रष्टा एवं प्रधानमन्त्री केपी शर्मा ओली मन्द मुस्कानले युवा–युवतीका नाचको कलालाई साथ दिइरहे ।

राष्ट्रिय सेवा दलको १३औं वरिष्ठ समूहको अन्तिम दीक्षान्त कवाज कार्यक्रमका सहभागीले बुधबार ललितपुरमा सो गीत गुन्जिरहँदा नाचकलाको जोसिलो प्रदर्शन गरेका थिए ।

उसो त ओलीले पहिलोपटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुँदा सो गीतको रचना गरी दललाई दिएका थिए ।

वि.सं. २०२२ मा स्थापना भएको सो दलले १३औं दीक्षान्तमा प्रधानमन्त्री एवं गीतकार ओलीका गीतलाई संगीतमा रुपान्तरण गर्दा तालिमका सहभागीले आकर्षक कला प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै देशको आर्थिक समृद्धि र विकासमा सबै क्षेत्रबाट उठ्न आह्वान गरे ।

उनले भने–‘मेरो नेतृत्वको वर्तमान सरकारको प्रमुख लक्ष्य आर्थिक समृद्धि गरी देश विकास गर्नु हो, सरकारले सदाचारको विधि अपनाउँछ ।’

सबै युवालाई शिक्षित बनाइ देश विकासको मूल प्रवाहमा समाहित गराउन सरकारले काम गर्ने चर्चा गर्दै प्रधानमन्त्री ओलीले ‘युवाको योगदानबाटमात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ’–भने ।

राष्ट्रिय एकता र भावनाले ओतप्रेत भइ उच्च मनोबलका साथ आफ्ना उद्देश्य र सपना पूरा गर्न तालिमका सहभागीलाई आह्वान गर्दै प्रधानमन्त्री ओलीले युवालाई हारेर होइन, जितेर काम गर्न आग्रह गरे ।

‘विश्वको सर्वाेच्च शिखर सगरमाथा, गौतमबुद्धको जन्मस्थल, लालीगुँरास फुल्ने स्वाभिमानी मेरो देशलाई अझ उँचो बनाउन सबै लाग्नुपर्छ, उकाली–ओराली, अप्ठ्यारोसित नतर्संदै प्रतिकूलतालाई अनुकूलतामा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ’–उनले भने ।

सो अवसरमा प्रधानमन्त्री ओलीले तालिममा सर्वाेत्कृष्ट हुने सहभागीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए ।

कार्यक्रममा रक्षामन्त्री तथा राष्ट्रिय सेवा दलका सहसंयोजक ईश्वर पोखरेलले युवा देशका भविष्य भएकाले उनीहरुको ज्ञान र सीपलाई विकासमा समाहित गराउन सरकारले जोड दिने बताए ।

युवा सशक्तीकरण सरकारको प्राथमिकतामा पर्ने चर्चा गर्दै उनले अगामी दिनमा सेवा दलका कार्यक्रमलाई विस्तार गर्न सहयोग गर्ने जानकारी दिए ।

राष्ट्रिय सेवा दलका महानिर्देशक उपरथी रवीन्द्र क्षत्रीले ‘स्मार्ट युथ’का लक्ष्यका साथ सेवा दलले अगामी दिनमा ७७ जिल्लाका सात हजार ७०० युवालाई तालिम दिने जानकारी दिँदै तालिमबाट सिकेका ज्ञानले युवालाई सशक्तीकरण गर्न सहयोग मिलेको बताए ।

१३औं दीक्षान्तमा ७६ जिल्लाका युवाका सहभागिता रहेको थियो । यस वर्ष सेवा दलले ६ हजार युवालाई तालिम दिने लक्ष्य लिएको छ ।

तालिमलाई प्रभावकारी बनाउन उसले सेवा दल ऐन २०२७ लाई संशोधन एवं नियमावलीसमेत तयार गर्ने जनाएको छ । सेवा दलमा आवश्यक जनशक्ति अभावसमेत रहेको बताइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ‘राष्ट्रिय सेवा दलः विगत र वर्तमान’ नामक पुस्तकको सार्वजानिक पनि गरे ।

सो अवसरमा तालिमका सहभागीले नाच तथा आकर्षक कला प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्