
सो अवसरमा विभिन्न ‘जोगिरा’सँगसँगै कविहरुले कविता पाठ गरेका थिए ।
फागु पर्वमा अत्यन्त महत्वपूर्ण मानिने जोगिरा लोप हुँदै गएपछि त्यसको संरक्षणका लागि जलेश्वरका युवाहरुले जलेश्वरमा फगुवा फुर्रर दंग कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक कुबेर कडायत, मनोज झा, अमरकान्त अमर, कन्दर्पलाल कर्ण, प्रभु मिश्र, राजेश्वर ठाकुरलगायतका कविहरुले होलीसम्बन्धी कविताहरु वाचन गरेका थिए ।
यस्तै, एकडारा गाउँपालिका, जलेश्वर नगरपालिकाका तीन समूहका होलैयाहरुले जोगिरा गाएका थिए ।
जलेश्वरस्थित शिक्षा कार्यालयअगाडि आयोजना गरिएको सो कार्यक्रममा स्थानीयकोसमेत सहभागिता थियो ।
फागु पर्वभन्दा एक महिनाअगाडिदेखि नै राति गाउँघरमा जोगिरा गाउने चलन रहेको थियो ।
तर, केही वर्षदेखि जोगिरा गाउने होलैयाहरुको उपस्थिति कम हुनु तथा यसप्रति युवाहरुको चासो नभएका कारणले यसमा कमी आएपछि युवाहरु यसलाई संरक्षण गर्न लागिपरेका हुन् ।
मिथिला साँस्कृतिक विकास केन्द्रको आयोजनामा सो कार्यक्रम आयोजना गरिएको फगुवा फुर्रर दंग संयोजन समितिको सदस्य प्रभु मिश्राले जानकारी दिए ।
मिथिलाञ्चलमा अन्तगृह परिक्रमाको भोलिपल्ट होली खेल्ने परम्परा रहेपनि जोगिरा भने होलीभन्दा महिनौं दिन पहिलादेखि नै गाउने चलन रहिआएको छ ।
यसपालि अन्तगृही परिक्रमा फागुन १७ गते बिहीबार गरिने भएकाले १८ गते तराईमा होली मनाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्