
काठमाडौं, असार १३ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशको मर्म मर्नेगरी विधेयक ल्याउन लागेको भन्दै यही असार १५ गतेदेखि आमरण अनशन बस्ने बताएका छन् ।
१५औंपटकको अनशन भने डा. केसीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बस्ने भएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले सरकारले चिकित्सा शिक्षा अध्यादेशको मर्म मर्नेगरी चिकित्सा शिक्षा विधेयक ल्याउन लागेकाले आफू पुनः सत्याग्रहमा बस्नुपर्ने अवस्था आएको जनाएका छन् ।
काठमाडौंबाहिर मेडिकल कलेज खोल्ने विषयमा सरकारले झारा टार्ने कामभन्दा बढी नगरेको भन्दै उनले स्थापना गरिएको वर्षौंसम्म पनि एमबीबीएसको पढाइ हुन नसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै अनशन बस्न लागेको विज्ञप्तिमा उल्लेख छ ।
छात्रवृत्तिमा पीजी पढेका चिकित्सकहरुको सेवा अवधि सम्झौताबमोजिम दुई वर्ष कायम गराउनसमेत डा. केसीले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्