काठमाडौंमा यस्तो देखियो होलीको रौनक (भिडियो) • Image Khabar Image Khabar


काठमाडौंमा यस्तो देखियो होलीको रौनक (भिडियो)


Imagekhabar
१७ फाल्गुन २०७४, बिहीबार १८:३०

काठमाडौंमा यस्तो देखियो होलीको रौनक (भिडियो)

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेको फागु पर्व विभिन्न रङ र लोला हानेर खेल्ने गरिन्छ । तराई क्षेत्रमा भने फागु पर्व शुक्रबार मनाइँदैछ ।

राजधानीका सडक, गल्ली युवा–युवतीले भरिभराउ थिए । बाटो हिँड्न नै मुस्किल हुनेगरी होली खेल्दै हिँडेका जमातले माहोल निकै रगिंन देखिएको थियो ।

के वृद्ध, के बालक, के युवा सबै होलीको रङमा रगिंएका थिए । रिस–राग सबै बिर्सिएर एउटै रङमा बाँधिने चाड हो, होली । जसलाइ हामी मेलमिलापको चाड भन्दछौ ।

रङ आफैंमा पवित्र छ र त्यही पवित्रतालाई एकापसमा लगाएर रमाइलो बाँड्ने गरिन्छ ।

शास्त्रीय वर्णनअनुसार दैत्यराज हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हादलाई मार्ने उद्देश्यले ब्रम्हाबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए । तर, आगोमा होलिका आफैं भस्म भइन् । विष्णुभक्त प्रल्हादलाई आगोले छोएन ।

त्यसैबेलादेखि आसुरी शक्तिमाथि ईश्वरी शक्तिको विजय तथा असत्य र क्रुरतामाथि सत्यको जितको खुसियालीमा होली पर्व मनाउने गरिएको हो ।

फागुन पूर्णिमाको आगमनको संकेतस्वरुप हप्ता दिनअगाडि हनुमानढोका दरबार क्षेत्रमा विधिपूर्वक चीर गाडिन्छ । चीर गाडिएपछि उपत्यकामा होली सुरुआत भएको मानिन्छ ।

काठमाडौंको वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन गाडिएको चीरलाई पूर्णिमाको रात विधिपूर्वक ढालेर बाजागाजासहित टँुडिखेलमा लगेर जलाउने परम्परा छ ।

जथाभावी रङको प्रयोग गर्ने, जबर्जस्ती रङ लगाइदिने, होलीका नाममा लागुपदार्थको सेवन गर्ने, तर्साउँदै र हल्ला गर्दै हिँड्नेक्रम यस वर्ष पनि देखियो ।

यस्ता व्यवहारले पनि सर्वसाधारण होलीको दिन बाहिर निस्कने आँट गर्न सक्दैनन् । बाध्यतावश निस्कनेमाथि पनि फोहोर पानी, जथाभावी रङ हाल्ने र अभद्र व्यवहार पनि हुने गर्दछ ।

यस्ता व्यवहारले साँच्चीको चाडपर्व मनाउनेहरुसमेत दिक्क हुन थालेका छन् ।

होली पर्व मनाउन दिनभर काठमाडौंका मुख्य स्थान र चोकहरुमा मानिसहरुको उल्लासमय उपस्थिति थियो । विशेषगरी युवा वर्ग होली पर्वलाई रमाईलो गरी मनाइरहेका थिए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्