भारतीय जिपको ठक्करबाट मृत्यु, सडकमै शव राखेर विरोध प्रदर्शन • Image Khabar Image Khabar


भारतीय जिपको ठक्करबाट मृत्यु, सडकमै शव राखेर विरोध प्रदर्शन


Imagekhabar
१८ फाल्गुन २०७४, शुक्रबार ०९:१०

भारतीय जिपको ठक्करबाट मृत्यु, सडकमै शव राखेर विरोध प्रदर्शन

प्रशासनको लापरवाहीका कारण दुर्घटना बढेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।

महेन्द्रनगर–गड्डाचौकी सडक खण्डको बनगाउँमा राति दुर्घटना भएको थियो । भारतबाट गड्डाचौकी नाका हुँदै महेन्द्रनगर बजार आउँदै गरेको युके ०३– ७१०१ नम्बरको भारती जिपले ठक्कर दिदा भिमदत्त नगरपालिका–६ का ४५ वर्षीय मोहन चन्दको घटनास्थलमै मृत्यु भएको हो ।

जिप र जिपमा सवार ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर जिपका चालक फरार भएका छन् । चालकको खोजी गर्न महेन्द्रनगर आसपास क्षेत्र र सिमा क्षेत्रमा चेकजाच कडा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले बताए ।

उता, मृतकका आफन्तले गड्डाचौकी भन्सारबाट जतिबेला पनि भारतीय गाडिहरुलाई सुविधा दिई नेपाल प्रवेश गराउने गरेका कारण रातिको समयमा दुर्घटना बढेको भन्दै विरोध गरिरहेका छन् । साँझ ६ बजेपछि भारतीय गाडिहरुलाई नेपाल प्रवेशका लागि सुविधा नदिने कानुनी प्रावधान छ । तर गड्डा चौकी भन्सारबाट जुनसूकै बेला भारतीय गाडि भित्रिने गरेको स्थानीय बताउँछन् ।

मृतकका आफन्तले फरार चालकलाई पक्राउ गरी कारवाही तथा पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्