
नवीन शर्मा र कुमार थापा (इमेज)
काठमाडौं, मंसिर १४ । नेपालको पुरानो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघभित्र समस्याको बादल मडारिनेक्रम बढ्दै गइरहेको छ ।
लगभग सबै विद्यार्थी संगठन यही अवस्थाबाट गज्रिरहेका बेला नेविसंघमा भने उमेरहदको नयाँ विवाद पेचिलो बन्न पुगेको हो ।
जसका कारण पुस २८ गतेलाई तोकिएको महाधिवेशन अहिले पनि शंकाका घेरामा छ ।
पञ्चायतविरुद्धको आन्दोलन सशक्त पार्ने मूल उद्देश्यले बीपी कोइराला, सुवर्णशमशेर र कृष्णप्रसाद भट्टराईको विशेष प्रयासमा २०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापना भयो ।
स्थापनाकालमा विचारमा प्रस्ट र खारिएको नेतृत्वका कारण यसका एजेन्डालाई पार्टी नेतृत्वलेसमेत गम्भीरताका साथ लिन्थे ।
यही कारण यो संगठनले शेरबहादुर देउवा, विमलेन्द्र निधि, बलबहादुर केसी, एनपी साउद, रामशरण महत, गगन थापालगायतका नेताहरु जन्मायो ।
तर, खुला राजनीतिमा आएपछि पार्टीभित्र मौलाएको गुटगत राजनीतिको शिकार नेविसंघ पनि हुन थाल्यो ।
माथिल्लो तहका नेताले गुटगतरुपमा खेलाउने र नेविसंघका पदाधिकारी त्यसैमा रमाउन थालेपछि यसको ओज पनि घट्दै गयो ।
यही कारण पछिल्लो समयमा नेविसंघका कुरा पार्टी नेतृत्वले सुन्न छाडेको छ र लगातार हस्तक्षेप गर्दै आएको छ ।
कहिले निर्वाचित कार्यसमिति नै भंग गरिदिने त कहिले तोकिएको महाधिवेशन मिति सारिदिने काम पार्टी नेतृत्वले गर्दै आएको छ ।
नेविसंघले २०३५ सालमा शेरबहादुर देउवाको नेतृत्वमा पञ्चायतविरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु गरेको स्वर्णिम इतिहास छ ।
तर, अहिले तिनै देउवा पार्टी सभापति रहेका बेला त्यही नेविसंघ थिलथिलो भएर गुटगत स्वार्थका कारण मुर्छित अवस्थामा पुगेको छ ।
पार्टी नेतृत्वसँगको अपारदर्शी स्वार्थ र सम्झौताका कारण विवाद झनै पेचिलोे बन्न पुगको हो ।
विद्यार्थी नेताहरु नेपालको शैक्षिक क्षेत्रमा व्याप्त माफियातन्त्र तथा दुईस्तरको शैक्षिक पद्दति निर्मुलनजस्ता एजेन्डा बोक्नुपर्नेमा पार्टी नेतृत्वको पुच्छर बन्दा शैक्षिक एजेन्डा त ओझेलमा परेको छ नै नेविसंघको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।
यसबीचमा नेविसंघको १२औं महाधिवेशनको बहस चलिरहँदा ३२ वर्षे उमेरहदको विवादले यसलाई गाँजेको छ ।
यही विवादका कारण पुस २८ गतेका लागि तोकिएको महाधिवेशन सर्ने त होइन ? भन्ने शंका गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्