१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रम सार्वजनिक


0
Shares

निर्वाचन तालिकाअनुसार फागुन २० गते अपराह्न ४ः३० बजे मतदाता नामावली प्रकाशन, फागुन २० गते अपराह्न ६ देखि साँझ ७ः३० बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २१ गते बिहान ८ः३० बजे हुनेछ ।

उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ४१ हजार तोकिएको छ ।

फागुन २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा मतदान हुने र मतदान समाप्त भएलगत्तै मतगणना सुरु हुने समिति सदस्य सचिव केशव रिजालले जानकारी दिए ।

पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ ।

फागुन २१ गते संसदीय दलको नेताका लागि निर्वाचन हुने र त्यसपछिमात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताए ।

राष्ट्रियसभामा भने दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा छ ।

त्यस्तै, राष्ट्रियसभाको प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको सांसद बद्री पाण्डेले बताए ।

५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसका १३ जना सांसद छन् । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।

सांसदको शपथपछिमात्र संसदीय दलको निर्वाचन
नयाँ सरकार गठनसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आ–आफ्नो पार्टीका संसदीय दलका नेता चयन गरे पनि कांग्रेसले भने सांसद पदको शपथपछिमात्र संसदीय दलको नेता चयन गर्न वैधानिक हुने जिकिर गरेको छ ।

कांग्रेसले बहुदलीय संसदीय शासन प्रणालीमा सांसदको शपथग्रहण नगरी कुनैपनि सदस्य संसदीय दलको नेता वा कार्यसमिति सदस्य हुन नसक्ने भन्दै सांसदको शपथपछिमात्र संसदीय दलको नेताको निर्वाचन गर्न लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संघीय संसदको पहिलो बैठक यही फागुन २१ गतेका लागि आह्वान गरेकी छन् ।

त्यसअघि संघीय संसद सचिवालयले संघीय सांसदहरुको पद तथा गोपनीयताको शपथ फागुन २० गतेका लागि निर्धारण गरेको छ ।

प्रतिनिधिसभाका सदस्यको शपथ अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ अपराह्न ५ बजे हुनेछ । उनीहरूलाई सम्बन्धित सदनका ज्येष्ठ सदस्यले शपथ दिलाउनेछन् ।

फागुन १३ गतेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले ‘नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधित तथा परिमार्जनसहित, २०७४)’ लाई सर्वसम्मतले अनुमोदन गरेको थियो ।

साथै, संसदीय दलको नेता चयन प्रक्रियाको आवश्यक गृहकार्य गर्न नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । रासस