१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नेपाली आयातका लागि कोलकाताभन्दा बिशाखापटनम सस्तो


0
Shares

यो बन्दरगाहबाट आयातमा ‘कस्टम हाउस एजेन्ट’ आवश्यक नपर्ने भएपछि लागत तुलनात्मकरुपमा न्यून हुने भएको हो ।

लागत प्रतिकन्टेनर २५ हजार भारतीय रुपैयाँ कम भएपछि विशाखापटनम पोर्ट राम्रो विकल्प बनेको छ ।

कोलकाताबाट अहिले वीरगन्ज सुक्खा बन्दरगाहसम्मको लागत प्रतिकन्टेनर १ लाख २५ हजार भारु पर्नेमा विशाखापटनमबाट एक लाख भारुमात्र पर्ने देखिएको छ ।

यो बन्दरगाहबाट आउँदा प्रतिकन्टेनर २५० अमेरिकी डलर बराबरको समुद्री भाडामासमेत बचत हुने विशाखा बन्दरगाह सन्चालक विशाखा कन्टेनर टर्मिनलका वरिष्ठ महाप्रबन्धक भी. कल्याण चक्रवर्तीले जानकारी दिए ।

विशाखापटनम् बन्दरगाहबाट नेपालका लागि मालसामान ढुवानी गर्दै आएका सिपिङ कम्पनीले नै बन्दरगाहमा कागजी प्रक्रिया पूरा गर्न थालेपछि विशाखापटनम तुलनात्मकरुपमा सस्तो पर्न गएको हो ।

अहिले यो बन्दरगाहमार्फत् मक्र्स लाइन, बीएलपीएल, अस्टियर लजेस्टिक र पोर्ट ट्रेड सिपिङ एन्ड लजेस्टिकले तेस्रो मुलुकबाट नेपालका लागि कन्टनेर ढुवानी गरिरहेका छन् ।

कोलकाता बन्दरगाहबाट हुने व्यापारमा मध्यस्थकर्ता र कस्टम हाउस एजेन्टले मनोमानीरुपमा रकम लिने गरेकाले कारोबार खर्च अस्वाभाविकरुपमा बढेको गुनासो आयातकर्ताले गरेका छन् ।

विशाखा टर्मिनलका जनसम्पर्क अधिकृत एमएन रावलले व्यापारमा नेपालको आयातमा खर्च घटाउने उद्देश्यले बन्दरगाहमा सिपिङ एजेन्सीले नै आयातकर्ताका काजगपत्रको जिम्मा लिने गरेको बताए ।

अहिले सिपिङ कम्पनीले वीरगन्ज सुक्खा बन्दरगाहसम्मै ‘बिल अफ लोडिङ’ दिने गरेका छन् ।

विशाखापटनम्मा कन्टेनर अनलोड भएको ५ दिनभित्र कन्टेनर वीरगन्ज आइपुग्ने र त्यहाँबाट आयातकर्ताले पाँच दिनको समय पाउने भएकाले विलम्ब शुल्क नलाग्ने टर्मिनलका अधिकारीहरूको दाबी छ ।

यो बन्दरगाहमा ठूला पानीजहाज सोझै आउन सक्छन् । यो बन्दरगाहले वार्षिक ७ लाख कन्टेनर ‘हेन्डलिङ’ गर्नसक्छ ।

विशाखा टर्मिनलले सन् २०२० भित्र क्षमता बढाएर १० लाख पुर्‍याउने योजना बनाएको छ ।

यो बन्दरगाह समुद्रसँग जोडिएकाले ठूला पानीजाहाज आउनसक्छन्, जुन सुविधा कोलकाता बन्दरगाहमा छैन ।

कोलकाता समुद्रबाट नहर बनाएर ल्याइएकाले साना पानीजहाजमामात्र मालसामान आउनसक्छन् ।

यसका लागि सिंगापुर र कोलम्बोमा साना जहाजमा कन्टेनर राखेर कोलकातासम्म ल्याउने गरिएको छ ।