१ असार २०८२, आइतबार | Sun Jun 15 2025


छोरी जन्मिए खातामा २५ हजार !


0
Shares

बुटवल, फागुन २० । रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ ।

लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।

छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गरिसकेको छ ।

छोरा जन्माउने आशामा छोरी भए गर्भपतन गर्ने क्रम बढेकाले रोक्नलाई यस किसिमको कार्यक्रम अगाडि बढाइएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले कार्यक्रमले गर्भपतन र बालविवाह रोक्ने विश्वास लिएको बताए ।

२५ हजारको मुद्दती खाता

गाउँपालिकाले बालिका संरक्षण कार्यक्रमअगाडि बढाउन कार्यविधि बनाउने जनाएको छ । यस कार्यक्रम अन्तर्गत प्रत्येक बालिका जन्मेपछि मुद्दती खाता खोलिनेछ ।

सो खातामा गाउँपालिकाले २० हजार र अभिभावकले ५ हजार रुपैयाँ राख्नुपर्नेछ । मुद्दती खाता बालिकाको नाममा खोलिनेछ ।

विपन्न परिवारका लागि भने ५ हजार जम्मा गर्न अनिवार्य नगरेको प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए ।

त्यसका लागि सो वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्नेछ । –नयाँ पत्रिका दैनिकबाट