Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


२८ प्रतिस्पर्धीलाई उछिन्दै सिमरन बनिन् मिस तामाङ


0
Shares

काठमाडौं, फागुन २० । यस वर्षको मिस तामाङको उपाधि पर्साकी सिमरन स्याङ्बोले जितेकी छिन् ।

नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा शनिबार यहाँ आयोजना गरेको एघारौँ संस्करणको मिस तामाङको उपाधि पर्सा ठोरी गाउँपालिका–४ की सिमरनले जितेकी हुन् ।

उनले प्रतियोगितामा सहभागी २८ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुमेकी हुन् ।

सिमरनले प्रतियोगितामा सबैभन्दा बढी भोट प्राप्त गरेकी थिइन् । उपाधिसँगै उनले रु एक लाख पुरस्कार हात पारिन ।

कार्यक्रममा सिमरनलाई सन् २०१७ की मिस तामाङ पिंकी घिसिङले ताज पहिर्‍याइन । उनी एक वर्षसम्म सिभिल गु्रपको ब्राण्ड एमबास्डरसमेत भएकी छिन् ।

यस्तै, फस्ट रनरअपसँगै इमेज भ्युवर च्वाइस नुवाकोटकी रञ्जिता लामा, सेकेण्ड रनरअपसँगै फोटो भ्युवर काठमाडौंकी कुञ्छान लामा, फोर्थ रनरअपसँगै ब्युटिफुल स्माइल मकवानपुरकी गीताञ्जली पाख्रिन तथा फिप्थ रनरअप काभ्रेकी अनिशा तामाङ भइन ।

यसैगरी, बेष्ट क्याटवाकको उपाधि रूपा घिसिङ, बेष्ट पर्सनालिटी आशिका बल, बेष्ट फ्रेण्डसिप सिम्रन लामा, बेष्ट अनुशासन क्रिष्टिना लामा तथा बेष्ट ब्युटिफुल हेयरको उपाधि प्रियंका लामाले प्राप्त गरिन् ।

निर्णायकहरू सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, सन् २०१२ की मिस तामाङ सुमी मोक्तान, नायिका ओसिमा बानु, समाजसेवीद्वय प्रविण मोक्तान र भुपाल तामाङ रहेका थिए ।

तामाङ जातिको कला, संस्कृति, वेशभूषा तथा रीतिरिवाज हराउँदै गएकाले त्यसलाई जोगाउने उद्देश्यले मिस तामाङ प्रतियोगिता आयोजना गरेको नेपाल तामाङ कला-संस्कृति केन्द्रका संस्थापक मिलन मोक्तानले बताए ।

‘मिस तामाङ’ प्रतियोगिता सन् २००६ देखि काठमाडौँमा आयोजना गरिँदै आएको छ । पहिलो मिस तामाङ जेनिशा मोक्तान भएकी थिइन् ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित नेपालको गणतान्त्रिक संविधान लेखनमा विषेश भूमिका निर्वाह गरेको भन्दै १६ जना तामाङ सभासद् तथा सांसदलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा राधिका तामाङ, यशोदाकुमारी लामा, रेशमबहादुर लामा, परशुराम तामाङ, दिलमान पाख्रिन, शेरबहादुर तामाङ, बहादुरसिंह लामा, तीर्थबहादुर लामा, कमला दोङ, बबिना मोक्तान, पुष्पलता लामा, रमेशकुमार लामा, इच्छाराज तामाङ, राजाराम स्याङतान, छेवाङतेन्जिङ लामा र योगेन्द्र घिसिङ रहेका छन् । रासस