
परिवर्तित ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका’ लेखिएको साइनबोर्ड पढेर उपमेयर बिणादेवी राईले उद्घाटन गरेसँगै आइतबार परिवर्तित नाम कार्यान्वयनमा आएको हो । साइनबोर्ड पढ्दै उपमेयर राईले आजबाट नगर तथा नगरका सम्पूर्ण वडा कार्यालयहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भएको साईनबोर्ड तथा लेटरप्याड कार्यान्वयन भएको बताईन् ।
साइनबोर्ड टाँस गरिएसँगै नगर तथा नगरका वडाका सम्पूर्ण कागजपत्रहरुमा पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कायम गरिएको छ । रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि दिक्तेल थप्न सम्पूर्ण नगरवासीको अथक देन रहेको उपमेयर राईले बताईन् ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै दिप्रुङ गाउँपालिकाले पनि परिवर्तन भएको नामको साईनबोर्ड तथा लेटरप्याड प्रयोगमा ल्याएको छ । दिप्रुङ गाउँपालिकाले पनि परिवर्तित ‘दिप्रङ चुइचुम्मा गाउँपालिका’ नामको साइनबोर्ड तथा लेटरप्याड प्रयोगमा ल्याइसकेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए ।
नगरपालिकाले नगरको पहिलो नगरसभा तथा गाउँपालिकाले पहिलो गाउँसभाबाट नाम परिवर्तनको निर्णय गरेको थियो । नगरसभा तथा गाउँसभाको निर्णयअनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत फागुन १४ गते राजपत्रमा प्रकाशित गरेर नाम परिवर्तन भएको जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्