Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


‘सरकारले काम गर्न नसक्दा राजनीतिक प्रणालीप्रति नै नैराश्यता बढ्ने खतरा’


0
Shares

विराटनगर, मंसिर १४ । नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारको काम गर्ने शैलीले सिंगो राजनीतिक प्रणालीप्रति नै नैराश्यता सिर्जना हुन सक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले नेकपाको सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको र यसले राजनीतिक प्रणालीप्रति नै नैराश्यता सिर्जना हुने खतरा निम्त्याएको बताएका हुन् ।

‘सरकारले राम्रो काम गर्दै गइदिएको भए कांग्रेस पनि सोहीअनुसार आफूलाई अझ बलियो बनाउन प्रयास गर्नुपर्ने अवस्थामा हुन्थ्यो,’ उनले भने, ‘तर कांग्रेसमा हामीले विस्थापित हुनुपर्छ भनेर आवाज उठाउँदै आएका नेता पनि अहिले सरकारले काम गर्न नसकेकै कारण पार्टीलाई पुरानै अवस्थामा फर्काउँछु भनेर राजनीतिक भविष्य सुरक्षित गर्न खोजेको अवस्था छ ।’

सरकारले जति राम्रो काम गर्दै जान्छ, कांग्रेसले आफूलाई उत्तिकै बलियो बनाउँदै लैजानु पर्ने ‘प्रतिश्पर्धात्मक राजनीति’ को आवश्यकता भए पनि सरकार नै शिथिल भइदिएका कारण कांग्रेसमा समेत आफूलाई बलियो बनाउने उत्साह जाग्न नसकेको उनको भनाइ थियो ।

थापाले सरकार असफल भयो भनेर कांग्रेसलगायत कुनै विपक्षी दलले भनिरहनु पर्ने अवस्था नरहेको बताए । प्रधानमन्त्री स्वयंले सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेकाले पनि यसको पुष्टि गरेको उनले प्रष्ट पारे ।