नापी र मालपोत कार्यालयको घुस प्रकरणमा ४ कर्मचारी निलम्बित • Image Khabar Image Khabar


नापी र मालपोत कार्यालयको घुस प्रकरणमा ४ कर्मचारी निलम्बित


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार ०८:०६

नापी र मालपोत कार्यालयको घुस प्रकरणमा ४ कर्मचारी निलम्बित

नापी र मालपोत कार्यालयमा घुस लिएको रकम बाँडफाँटमा कर्मचारीबीच कुटाकुट भएको घटनालाई कार्यालयभित्र मदिरा सेवन गरेको सामान्य घटनाका रुपमा जनही एक हजार रकम जरिवाना गरि आईतबार छोडिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार घुस प्रकरणमा भने छानविनका लागि जिल्ला प्रशासन कार्यालयले कानुन अधिकृतको नेतृत्वमा छानविन समिति गठन गरेको छ । ‘कार्यालयमा मदिरा सेवन गरेको हुँदा स्थानीय प्रशासन ऐनअनुसार १ हजार जरिवाना गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयका कानुन अधिकृत लोकमणि पाण्डेको नेतृत्वमा छानविन टोली गठन गरिएको छ ।’

समितिले छानविन गरि एक हप्तामा प्रतिवेदन दिनुपर्ने छ । मालपोत र नापी कार्यालयका कार्यालय प्रमुखलाई आवश्यक स्पष्टीकरण सोधिएको प्रजिअ रिजालले जनाए । ‘मदिरा सेवनबाहेकका अन्य बिषयमा सम्वन्धित कार्यालयले विभागीय कारवाहीका लागि पहल गर्न सक्छ,’ उनले भने ।

आइतबार जिल्ला प्रशासन कार्यालयले मालपोत र नापी कार्यालयका प्रमुखलाई बोलाएर यस बिषयमा जानकारी लिएको थियो । प्रशासनमा हाजिर भएका कार्यालय प्रमुखले कुटाकुट भएको घटनालाई मदिरा सेवन गरेको सामान्य घटना भएको बताएका थिए । जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार घाइते भएका कर्मचारी अत्यधिक मदिरा सेवन गरेका कारण आफैं लडेर घाइते भएको कार्यालय प्रमुखले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए ।

मालपोत कार्यालयका एक कर्मचारीले घटना भइरहँदा जिल्ला प्रहरी कार्यालयमा टेलिफोन गरि घटनाबारे जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालयले वडा प्रहरी कार्यालयको टोली खटाइ कार्यालय समयभित्रै कुटाकुट गरिरहेका कर्मचारीलाई पक्राउ गरेको थियो ।

घटना भएको मालपोत कार्यालयले भने घटनामा संलग्न दुईजना कर्मचारीलाई निलम्वन गरेको जनाएको छ । निमित्त कार्यालय प्रमुख मनोहर श्रेष्ठले भने, ‘पूर्णानन्द भट्ट र ज्ञानेन्द्र ओझालाई आवश्यक छानविनका क्रममा निलम्वन गरिएको छ ।’ त्यसैगरी घटनामा संलग्न भएका नापी कार्यालयका सर्वेक्षक महादेव जोशी र बिरेन्द्र सिंह पनि निलम्बन गरिएको कार्यालयले जनाएको छ ।

नापी कार्यालयका प्रमुख दयानन्द जोशीले भने, ‘स्पष्टीकरण सोध्ने बाहेक के गर्न सकिन्छ र ?’ नापी कार्यालयका कर्मचारीले केही दिन यता सेवाग्राहीवाट लिएको रकमको हिसाव किताव गलत दिंदा मालपोत कार्यालयका कर्मचारीबीच भनाभन भएपछि मदिराको नशामा रहेका कर्मचारीबीच कुटाकुट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्