३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


प्रदर्शन नजिकिँदै गर्दा ‘गाँजा बाजा’ टिम देशव्यापी दौडाहामा


0
Shares

चलचित्रका निर्देशक गणेशदेव पाण्डे, अभिनेता अमर सुवेदी, रविन थापा लगायत अहिले मोफसलमा छन् । शनिबार पोखरा र आईतबार बुटबल, नारायणघाट र हेटौंडामा यो चलचित्रको टिमले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

भेटघाटका क्रममा निर्देशक गणेश देव पाण्डेले यो पारिवारिक र हास्य प्रधान चलचित्र भएको बताए । चलचित्रको ट्रेलरमा बिप गरिएकोबारे पत्रकारले सोधेको प्रश्नमा निर्देशक पाण्डेले सिनेमामा त्यस्ता कुराहरु नरहेको बताएका छन् । गाँजा बाजाले दर्शकलाई हँसाउने र पूर्ण मनोरञ्जन दिने पनि निर्देशक पाण्डेले बताए ।

पोखराबाट सुरु भएको मोफसल यात्रा पूर्व दमकमा पुगेर सम्पन्न हुनेछ । निर्देशक पाण्डेका अनुसार गाँजा बाजाको सोमबार बिराटनगर र दमक, मंगलबार धरानमा पत्रकार भेटघाट राखिएको छ । एक वर्षसम्म अदालतमा मुद्दा लडेको चलचित्र ‘गाँजा बाजा’ अदालतबाट मुद्दा जितेर दर्शकमाझ आउन लागेको हो ।

यसलाई दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । चलचित्र पारिवारिक भएकाले सबैले सँगै बसेर हेर्न मिल्ने निर्माता रेग्मीले बताए । गाँजा बाजालाई सँगै बसेर हेर्दा अभिभावकदेखि सन्तानसम्मले सकारात्मक सन्देश पाउने पनि निर्माता रेग्मीले जानकारी गराए ।

निर्माता गोमाका अनुसार अहिले नेपालमा करिब १८ प्रतिशत युवा विभिन्न लागू औषध तथा दूर्व्यसनीमा फसेकाले यो चलचित्रले अरुलाई त्यो मार्गमा लाग्नबाट जोगाउने र दूर्व्यसनीमा फसिसकेकालाई पुनः यो नशा छाडेर पूर्वजीवनशैलीमा फर्कन समेत प्रेरित गर्ने बताइन् ।

यो चलचित्रमा सुशील सिटौला, वर्षा सिवाकोटी, अनुपम शर्मा, रविन थापा, उद्धव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको छायांकन यकोपो रास्लिक (इटालियन), संगीत निख एन्ड जटा, सम्पादन लोकश बज्राचार्य, ध्वनि अमित श्रेष्ठको छ । यो चलचित्र हास्य जनरामा तयार गरिएको पनि निर्माण पक्षले जनाएको छ ।