काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा साेमबार खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ ।
कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन रहेकाे हाे । गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ । खेतीपाती बाहेक अरु पेशा र व्यवसायमा लागेका नेपालीले पनि यस दिन दही चिउरा खाई असार १५ मनाउने गर्दछन् ।
त्यस्तै, २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । साेही दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै ठाउँमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको हाे ।









प्रतिक्रिया दिनुहोस्