दुई पार्टीबीचको एकतापछि बहुदलीय जनवादको कार्यदिशा अघि बढ्छ : प्रधानमन्त्री ओली • Image Khabar Image Khabar


दुई पार्टीबीचको एकतापछि बहुदलीय जनवादको कार्यदिशा अघि बढ्छ : प्रधानमन्त्री ओली


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार १२:३४

दुई पार्टीबीचको एकतापछि बहुदलीय जनवादको कार्यदिशा अघि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २१ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि जनताको बहुदलीय जनवादको कार्यदिशाबाटै अघि बढ्ने बताएका छन् ।

४५ औं शहीद स्मृति दिवसका अवसरमा आज एमाले पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई पार्टीबीच चाँडै एकता हुने र बहुदलीय जनवादको कार्यदिशाबाट अघि बढ्ने बताएका हुन् ।

पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले वाम एकता नचाहनेलाई चाँडै एकता गरेर सरप्राईज दिने बताए । मुलुक अब कम्युनिस्ट पार्टीले नै चलाउने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक बाटोबाट अगाडि बढेको र जनचाहनाअनुसार नै काम गर्ने स्पष्ट पारे ।

बहुमतको सरकारले आफ्नो निर्णयलाई दृढताका साथ कार्यान्वयन गर्ने भन्दै उनले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने अठोट व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले क्रान्तिमा होमिएका शहीदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, बीरेन राजवंशी, कृष्ण कुईंकेल र नारायण श्रेष्ठले देखाएको बाटोबाटै आज मुलुकमा गणतन्त्र आएको पनि बताए ।

२०२९ साल फागुन २१ गते तत्कालिन झापाली कम्युनिष्ट क्रान्तिकारीहरुलाई पन्चायती शासकले जेल सार्ने बाहनामा झापा र इलामको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेका थिए ।

तिनै शहीदहरुको नाममा एमाले हरेक वर्ष फागुन २१ गतेलाई शहीद स्मृति दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्