Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


देउवाको गृहजिल्लामा कांग्रेसका स्थानीय नेता के भन्छन् !


0
Shares

टेकराज अवस्थी

डडेल्धुरा, मंसिर १४ । अघिल्लो निर्वाचनमा अनपेक्षित पराजय बेहोरेको नेपाली कांग्रेसलाई डडेल्धुराका नेता कार्यकर्ताले गुटउपगुट अन्त्य गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।

कांग्रेसको अधोगमनप्रति चिन्तित जिल्लाका नेता तथा कार्यकर्ताले पार्टीभित्र सबै एकजुट बनेर अगाडि बढ्नुको विकल्प नभएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

आगामी मंसिर २८ गतेबाट सुरु हुन लागेको कांग्रेस महासमिति बैठकप्रति सबैको चासो देखिन थालेको छ । पार्टीको विधानसमेत परिमार्जन गर्ने यस बैठकले सबैतिर एक प्रकारको तरंग ल्याउन थालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरामा पनि पछिल्लो समय कांग्रेस क्षयीकरण हुँदै गइरहेको छ । कांग्रेसमा देखिएको यो स्खलनले डडेलधुराका कांग्रेस नेता कार्यकर्तालाई पनि चिन्तित बनाएको छ ।

प्रजातन्त्र र लोकतन्त्रलाई प्रमुख आदर्श मानेको कांग्रेसको इतिहास विरासतपूर्ण र गौरवपूर्ण भए पनि पछिल्लो समय कांगेसले आफ्नो आदर्श र जनताका सबाल बिर्सिँदै गएको कांग्रेसका पुराना कार्यकर्ता तथा दलित अगुवा भरत नेपालीको गुनासो छ ।

जहाँनिया राणा शासन उखेलेर प्रजातन्त्र र गणतन्त्र ल्याउने काममा सफल भएको कांग्रेस पछिल्लो समय जनताका आकांक्षाको बेवास्ता गर्दै आन्तरिक झमेलामा रुमल्लिएको अर्का शुभेच्छुक कर्णबहादुर चन्दको भनाइ छ ।

कांग्रेसमा नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने, संघीयता अनुसारको विधान बनाउनुपर्ने तथा समयसमयमा नेता कार्यकर्तालाई प्रशिक्षण दिन आवश्यक रहेको स्थानीय युवा नेता प्रकाश जैरुको धारणा छ ।

यी त प्रतिनिधि आवाजमात्र हुन् । कांग्रेसका शुभचिन्तकहरु कांग्रेस व्यक्तिगत स्वार्थमा नलागेर जनतामुखी, कार्यकर्तामुखी र पार्टीको हितअनुकुल अगाडि बढोस् भन्ने नै चाहन्छन् । निर्वाचनपछिका गतिविधिमा पनि सक्रियता नदेखाएको कांग्रेस अब नयाँ तरिकाबाट अगाडि बढ्नुपर्ने धेरैको शुभेच्छा छ ।

आगामी महासमिति बैठक औपचारिकतामा मात्र सीमित नभई कांग्रेसमा उठेका महत्वपूर्ण सबालहरु सम्बोधन गर्ने किसिमको होस् भन्ने डडेल्धुराका कांग्रेस शुभचिन्तकहरुको अपेक्षा छ ।