
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा राष्ट्रियसभाको पहिलो बैठकले राष्ट्रियसभा सन्चालनसम्वन्धी अन्तरिम कार्यविधिलाई सर्वसम्मतरुपमा पारित गर्यो ।
बैठकले राष्ट्रियसभाको अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी र कालीबहादुर मल्ललाई मनोनयन गरेको छ ।
अपराह्न ४.२३ बजे सुरु भएको उक्त बैठकको प्रारम्भमा अध्यक्ष भट्टले पहिलो बैठकमा सहभागी सदस्यलाई स्वागत गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरिन् ।
त्यसलगत्तै अध्यक्ष भट्टले राष्ट्रपतिबाट सघीय संसदको बैठक आह्वासम्बन्धी पत्रवाचन गरेर सुनाएकी थिइन् ।
राष्ट्रपति कार्यालयको पत्रवाचनपछि बैठकले लोकतन्त्र र प्रजातन्त्रको लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदप्रति सम्मान व्यक्त गर्न २ मिनेट मौनधारणा गर्यो ।
त्यसपछि अध्यक्ष भट्टले मन्त्रिपरिषद विस्तारसम्बन्धी विभिन्न मितिमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।
त्यसपछि बैठकले राष्ट्रियसभा कार्यसन्चालन नियमावली तयार नहुन्जेल बैठकको कार्यसन्चालनका लागि अध्यक्ष भट्टले प्रस्तुत् गरेको राष्ट्रियसभा सन्चालनसम्बन्धी अन्तरिम कार्यविधिलाई सर्वसम्मतिले अनुमोदन गर्यो ।
नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभा गठन र पदावधिसम्बन्धी व्यवस्था रहेको छ ।
५९ सदस्सीय राष्ट्रियसभामा मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित ८ जनाका दरले प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका तीनजना सदस्यलाई भने सर्वाेच्च अदालतको ‘शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशपछि उनीहरूको शपथ हाल रोकिएको छ ।
अहिले राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका दुई/दुई सदस्यको प्रतिनिधित्व रहेको छ ।
राष्ट्रियसभा सदस्यमा अहिले २१ महिला र ३५ पुरुषको प्रतिनिधित्व छ । ६ वर्ष कार्यकाल रहने राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाइको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ ।
प्रतिनिधिसभाबाट गएको अर्थ विधेयक १५ तथा अरु विधेयक दुई महिनाभित्र पारित गरी वा सुझावसहित फिर्ता पठाउनुपर्ने राष्ट्रियसभाको दायित्व हुनेछ ।
राष्ट्रियसभा स्थायी प्रकृतिको सदन हो । राष्ट्रियसभाको बैठक प्रारम्भ भएको १५ दिनभित्र अध्यक्षको निर्वाचन गर्नुपर्ने सवैधानिक व्यवस्था छ ।
राष्ट्रियसभाको अर्को बैठक फागुन २२ गते बिहान ११ बजे बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्