सशस्त्रसँग थ्रीस्टारले लियो बदला • Image Khabar Image Khabar


सशस्त्रसँग थ्रीस्टारले लियो बदला


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार १८:०६

सशस्त्रसँग थ्रीस्टारले लियो बदला

झापाको बिर्तामोडमा जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा सशस्त्रलाई १−० ले हराउँदै थ्रीस्टारले बदला लिएको हो ।

चितवनमा सम्पन्न १३औं टुबोर्ग विकास रनिङ शिल्डको फाइनल खेलमा सशस्त्रले थ्रीस्टारलाई १−० नै ले पराजित गर्दै उपाधि जितेको थियो ।

सोमबार भएको खेलमा थ्रीस्टारको जितमा विदेशी खेलाडी अजय मार्टिन नायक बने । उनले खेलको ५७औं मिनेटमा गरेको एकमात्र गोल नै नतिजामा निर्णायक बन्यो ।

सुनील बलको क्रस पासमा मार्टिनले गोल गरेका थिए ।

खेलको पाँचौं मिनेटमा थ्रीस्टारका सुनील बलको कडा प्रहार सशस्त्रका गोलरक्षक चौधरीले पन्च गरेर बाहिर फ्याँकेका थिए । ९औं मिनेटमा मार्टिनले पाएको अवसर फ्रेममा पर्न सकेन ।

२४औं मिनेटमा सशस्त्रका हरि कार्कीले गरेको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले गोललाइनबाट बचाए । ४१औं मिनेटमा थ्रीस्टारका स्ट्राइकर बुद्ध चेम्जोङको कडा प्रहार गोल हुन सकेन ।

५८औं मिनेटमा मार्टिनको प्रहार गोलरक्षक चौधरीले पन्च गरेर फर्काए । खेलको ६४औं मिनेटमा मार्टिनको कडा प्रहार सशस्त्रका पोस्टबार र गोलरक्षक चौधरीलाई टच हुँदै बाहिरियो ।

७४औं मिनेटमा सशस्त्रका रमेश दंगालको हेडर पोस्टनजिकैबाट बाहिरियो । ७५औं मिनेटमा कप्तान निराजन खड्काले एकल प्रयासमा गरेको प्रहारले जाली नचुम्दा गोल अन्तर बढाउने अवसरबाट थ्रीस्टार बन्चित भएको थियो ।

खेलको ७८औं मिनेटमा मार्टिनको शसक्त प्रहार सशस्त्रका गोलरक्षक चौधरीले फर्काइदिए ।

८५औं मिनेटमा सशस्त्रका रोशन लामाले डी एरियाबाट गरेको कडा प्रहार बाहिरिएको थियो ।

खेलको इन्जुरी समयमा सशस्त्रका सुदीप शिखाकारले गरेको हेड बाहिरिएपछि थ्रीस्टारले सशस्त्रसँग विकास रनिङ शिल्डमा व्यहोरोको हारको बदला लिन सफल भयो ।

खेलको ‘म्यान अफ दी’ म्याच थ्रीस्टारका अजय मार्टिन घाषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताअन्तर्गत् मंगलबारको खेल मनाङ–मर्स्याङ्दी क्लब र सहारा क्लब पोखराबीच हुने आयोजकले जनाएको छ ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सशस्त्रका प्रशिक्षक रतनकाजी महर्जनले निरन्तर खेल खेल्नुपरेका कारण खेलाडीले आराम नपाउँदा पराजय व्यहोर्नुपरेको बताए ।

दुई दिनअघिमात्र चितवनमा खेलेर झापा आएको बताउँदै उनले मैदानकाबारेमा जानकारी नभएकाले पनि खेल्न सहज नभएको बताए ।

त्यस्तै, थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले स्कोर गर्न नसक्दा सोचेअनुसारको परिणाम निस्कन नसकेको बताए ।

उनले खेल ६०−४० को अवस्थामा हुँदासमेत एउटामात्र गोल हुन सकेको बताए । एकमात्र गोल हुँदा प्रतिस्पर्धाजस्तो देखिएको उनको भनाइ थियो ।

प्रतियोगिताको विजेता टिमले नगद १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्