२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सांसदहरुका लागि यस्ता छन् नियम, अमर्यादित व्यवहार गरे १५ दिन निलम्बन


0
Shares

सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’ अनुसार सांसदलाई बैठकस्थलमा मोबाइल चलाउन बन्देज लगाउनेलगायत दर्जनौं नियमले बाँधेर मर्यादित बनाइने भएको छ । अन्तरिम कार्यविधि सर्वसम्मत रुपमा पारित भएको छ ।

कार्यविधिअनुसार सभामुखको आसनको अवहेलना गर्ने वा सभाको कार्यमा जानीजानी बाधा पुर्‍याउने, अभद्र व्यवहार गर्ने वा संविधान वा कार्यविधिको जानीजानी उल्लंघन वा अवहेलना गर्ने सदस्यको नाम सभामुखले सुरुमा सुनाउनेछन् ।

‘नाम तोकिएको सदस्यलाई बैठकबाट निलम्बन गरियोस् भनी कुनै सदस्यद्वारा प्रस्ताव पेस भएमा सो प्रस्ताव सभामुखले निर्णयार्थ तुरुन्त बैठकमा प्रस्तुत गर्नेछन्, प्रस्तावउपर कुनै संशोधन वा स्थगन प्रस्ताव ल्याई छलफल गर्न पाइनेछैन,’ कार्यविधिमा भनिएको छ, ‘प्रस्ताव पारित भएमा त्यस्तो सदस्य निलम्बन भएको मानिनेछ र त्यसरी निलम्बित सदस्य त्यसपछिको १५ दिनसम्म सभा र समितिको बैठकमा उपस्थित हुन पाउनेछैन ।’ निलम्बन भएको सदस्य तुरुन्त बैठकस्थलबाट बाहिर जानु अनिवार्य गरिएको छ ।

अन्तरिम कार्यविधिमा सभामुखको आसनतर्फ पिठ्युँ फर्काएर बस्न नहुने, कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने उल्लेख छ । ‘बैठकको कार्यसँग प्रत्यक्षरुपले सम्बन्धित विषयबाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने र बैठक कक्षमा मोबाइल फोन तथा अन्य कुनै विद्युतीय उपकरण प्रयोग गर्न नहुने’ व्यवस्था कार्यविधिमा गरिएको छ ।

प्रस्तावको अवस्थामा बाहेक सभामुखको आचरणबारेमा प्रश्न उठाउन नपाउने, बोल्न पाउने अधिकारलाई सदनको कार्यमा वाधा पार्ने मनसायले दुरुपयोग गर्न नहुनेतर्फ कार्यविधिले सचेत बनाएको छ । ‘अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द र सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्न नहुने’ भन्दै नियमले बाँधेको छ । –नागरिक दैनिकबाट