
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले एक/दुई दिनभित्रमै सरकार विस्तारको प्रयास भइरहेको बताउँदै ढिलोमा एक हप्ताभित्रमा पूर्णता दिने बताए ।
संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिदै मन्त्री पण्डितले सकेसम्म दुवै दललाई सरकारमा सहभागी गराउने बताए ।
मन्त्री पण्डितले फोरम र राजपासँग धेरै कुरामा सहमति भैसकेको र स–साना कुरा मिल्न मात्रै बाँकी रहेको स्पष्ट पारे ।
मन्त्रालय व्यवस्थापनका कारण पनि सरकार विस्तार प्रभावित भएको उनले बताए । ‘१३ वटा मन्त्रालय घटाएर ३० बाट १७ वटा बनाइएको छ । विभिन्न विभाग र निकाय व्यवस्थापन हुँदैछ,’ उनले भने ।
मन्त्री पण्डितले अहिलेको अवस्थामा प्रतिपक्षको आवश्यकता नरहेको भन्दै कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरे ।
‘कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम पठाउनुस्, हामी सरकारमा सहभागी गराउँछौँ । कोही पनि प्रतिपक्षमा बस्न नपरोस भन्ने हाम्रो चाहना छ,’ उनले भने । आफूहरुले कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनेगरि गृहकार्य गरेको उनको भनाइ थियो ।
अब देशलाई विकास र सुशासनको दिशामा लैजानुपर्ने भएकाले कोही पनि सरकार बाहिर बस्न आवश्यक नरहेको उनको तर्क थियो ।
मन्त्री पण्डितले देशभरिका प्रमुख शहरहरुको प्रदुषण हटाउनका लागि आफू लागिपरेको बताए । धेरै वर्ष लागेर बिग्रिएको काठमाण्डौंको वातावरण एकै रातमा ठीक पार्न नसकिने भन्दै देशभरिका प्रमुख शहरहरुमा एक वर्षभित्रमा माक्स लगाउन नपर्ने गरी काम सुरु गरेको उनले विश्वास दिलाए ।
धुलो नियन्त्रणका लागि अन्य विकास निर्माणका काम गरिरहेका निकायसँग समन्वय गर्दै दिनमा चारपटक पानी हालेर धुलो मार्ने काम सुरु भइसकेको पनि उनले जानकारी दिए ।
धुवाँधुलो हुनुको ९० प्रतिशत कारण डिजेलबाट चल्ने गाडी भएकाले वैशाख १ गतेदेखि महानगरपालिका र उप–महानगरपालिकामा हरियो स्टिकर नलगाएका गाडीलाई प्रवेश निषेध गरिने उनले बताए ।
किनेर वा गलत तरिकाले हरियो स्टिकर लिएर प्रयोग गरेको पाइए त्यस्तो स्टिकर दिने कर्मचारी र गाडी मालिकलाई कारबाही गरिने उनले कडा चेतावनी दिए । ‘कतिपय उद्योग, जसले धुवाँ फालेका छन्, तिनलाई धुवाँ धुलो नियन्त्रण गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ,’ उनले भने ।
त्यसैगरी प्लाष्टिकका झोला उत्पादन र आयातमा रोक लगाइने पण्डितले बताए । माटोमा कुहिने खालका प्लाष्टिक मात्रै प्रयोग गर्न दिईने उनको भनाइ छ ।
एक वर्षभित्र देशका प्रमुख शहरमा धुवाँ धुलोकै कारण माक्स लगाउनुपर्ने अवस्थाको अन्त्य गर्नै उनको दाबी छ ।
काठमाडौंमा धनी, बुद्धिमानी मानिस बसे पनि प्रदुषण भने बढाएको आरोप लगाउँदै पण्डितले भने, ‘राम्रा, शिक्षित, धनी सबै काठमाडौंमा बस्छन्, तर देखेर सिकेर पनि परिवर्तन हुन सकेन ।’
प्रतिक्रिया दिनुहोस्