२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेता नेपालले राष्ट्रभक्तिको गीत गाउँदा… संसदमा यसरी भयो हाँसो


0
Shares

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधनको सुरुमै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा संकटकै स्थिति रहेको आफूलाई आभास भएर राष्ट्रभावबाट ओतप्रोत यही गीतको दुई हरफ प्रस्तुत् गरेको सुनाए ।

मुलुकलाई सधैं अन्योलमा राखिएको र राजनीतिक खिचातानीमात्रै गरिएकाले जनताको अपेक्षा पूरा हुन नसकेको भन्दै नेता नेपालले भावपूर्ण शैलीमा भने–‘अझैपनि देश डुब्न दिने हो भने हामी सबै डुब्छौं । कोही पनि बच्दैनौं ।’

नेता नेपालले भ्रष्टाचारको जालो तलदेखि माथिसम्म फैलिएकाले विकास निर्माणको कामसमेत प्रभावित हुने गरेको तथा जनताले लामो समयसम्म कस्ट भोग्नुपरेको गुनासो पोखे ।

राजनीतिक स्थिरताको अभावमा मुलुकले आर्थिक समृद्धिको दिशा लिन नसकेको, रोजगारीको खोजीमा लाखौं युवा विदेशी भूमिमा भौंतारिइरहनुपरेको, एकाध वर्षमा सकिने विकास निर्माणको काममा वर्षौं लाग्ने गरेको, कोही–कसैले पनि जिम्मेवारी नलिने प्रवृत्ति हावी भएको भन्दै वर्तमान सरकारले यी सबै अव्यवस्था हटाउनैपर्ने बताए ।

नेता नेपालले अझै अगाडि बढेर अर्को गीत पनि प्रतिनिधिसभा बैठकमा सुनाए ।

गायक शिशिर योगीको स्वर, डा. विश्वनाथ बरालको रचना रहेको ‘म एउटा मानिस खोजिरहेछु’ भन्ने गीत सुनाउँदा प्रतिनिधिसभाको बैठकमा सहभागी सांसद एकाग्रमात्रै बनेनन्, देशमा मौलाएको अराजकता र दन्डहीनताको अन्त्यका विषयमा सोचमग्न बनेका थिए ।

नेता नेपालले विकास निर्माणको काममा संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायले अनावश्यक हस्तक्षेप गर्ने गरेको विगतको तितो अनुभवसमेत सुनाए ।

भ्रष्टाचारको जालो तोडेर, कानुनी एवं प्रशासनिक संरचनामा परिवर्तन तथा विकास निर्माणमा काम भएको छ कि छैन भन्ने हेर्न अनुगमन संयन्त्र बनाउन वर्तमान सरकार क्रियाशील हुनैपर्ने नेता नेपालको सुझाव थियो ।

राष्ट्र निर्माणका लागि सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने भएपनि विगतमा त्यस्तो नभएको, चासो व्यक्त गर्ने निकायलेभन्दा अरुले बढ्ता चासो राख्ने गरेको र विकास निर्माणमासमेत अनावश्यक चलखेल भएको भन्दै उनले अब त्यस्तो छुट कोही–कसैलाई पनि नहुने बताए ।

नेता नेपालले पटक–पटक भ्रष्टाचारको प्रसंग जोड्दै ‘मुलुक अगाडि बढ्न नसक्नुको मुख्य कारण भनेकै जिम्मेवारी लिएका व्यक्ति, नीति–नियमको अवरोध तथा प्रशासनिक दक्षताको अभाव हो’–भने ।

अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि भ्रष्टाचार, अनियमितता र कुसंस्कारका कारण मुलुकले गति लिन नसकेको बताए ।

‘कानुनी शासनमा राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेमाथि दन्डको व्यवस्था हुन्छ’–अध्यक्ष दाहालले भने–‘हाम्रोमा काम गर्ने गरेको गर्‍यै, नगर्ने पुरस्कृत भएको भयै हुने प्रवृत्ति मौलायो । अब कोही–कसैलाई पनि त्यस्तो छुट दिन सकिँदैन ।’

विगतमा पद प्राप्तिका लागि जस्तोसुकै काम गर्ने प्रवृत्ति मौलाएको, जनताका समस्या दिनहुँ बढ्दै गएको, रोजगारीको खोजीमा लाखौं युवा खाडी मुलुकमा पुगेका र त्यहाँ मृत्यु भएकालाईसमेत स्वदेश ल्याउन नसकिएको दृष्टान्त प्रस्तुत् गर्दै अध्यक्ष दाहालले स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न वर्तमान सरकारले ठोस काम गर्ने विश्वास व्यक्त गरे ।

भ्रष्टाचारको जरो नउखेल्दासम्म आर्थिक समृद्धि र विकासको चाहना पूरा नहुने भन्दै पूर्वप्रधानमन्त्री दाहालले इमान्दार भएर काम गर्ने हो भने एकाध वर्षमा मुलुकको कायापलट हुने आत्मविश्वास आफूहरुसँग रहेको बताए ।

सोही बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिक कार्यभार पूरा भएको भन्दै ‘अब आर्थिक समृद्धिको यात्रामा मुलुक अगाडि बढ्नुपर्छ’–भने ।

‘विगतमा चुनाव हुँदैन कि भन्ने संशय फैलाइएको थियो । त्यो संशय पनि हट्यो, नयाँ सरकार गठन भएको छ । सरकारको सकारात्मक कामको समर्थन र गलत कामको विरोध गरेर रचनात्मक प्रतिपक्षको भूमिका हामी निर्वाह गर्दछौं’–सभापति देउवाले भने ।

नेपालको राजनीतिक परिवर्तनको महत्वपूर्ण घडीमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका सभापति देउवाले भने–‘२००७ सालको परिवर्तन, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन, संविधान लेखनकार्य कांग्रेसकै नेतृत्वमा भएका छन् । संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारकोरुपमा रहेको निर्वाचनसमेत कांग्रेसले सम्पन्न गरेको छ ।’

मंगलबारको बैठकमा तीन पूर्वप्रधानमन्त्रीले सुशासनको स्थापना र सबै किसिमका अनियमितताको अन्त्य गर्दै आर्थिक समृद्धिमा लाग्न हातेमालो गरेर अगाडि बढ्ने विषयलाई केन्द्रविन्दुमा राखेर आफ्नो भनाइ राखेका थिए ।

राजपा नेपालका अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको विषयलाई आफ्नो सम्बोधनको प्रमुख विषय बनाए ।

जब सांसद लिङ्देनले माइक समाए…
प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्ष नेतालाई आफ्नो धारणा राख्ने समय प्रदान गरिएको थियो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले पालैपालो स्वतन्त्र हैसियतमा रहेका राष्ट्रिय जनमार्चाका दुर्गा पौडेल र नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाललाई पाँच/पाँच मिनेट दिएका थिए ।

स्वतन्त्र हैसियतमा रहेका नयाँ शक्ति पार्टीका सांसद डा. बाबुराम भट्टराई मंगलबारको बैठकमा उपस्थित भएनन् ।

त्यसपछि पालो थियो, राष्ट्रिय प्रजातन्त्र पार्टीका स्वतन्त्र हैसियतमा रहेका सांसद राजेन्द्र लिङ्देनको । तर, ज्येष्ठ सदस्य ठाकुरले नाम नटिपाएको भन्दै कार्यसूचीमा रहेको प्रस्ताव पेस गर्न थाले ।

कार्यसूचीमा प्रवेश गर्नै लाग्दा सांसद लिङ्देन आशनबाट उठे र आफूलाई बोल्न समय दिन ज्येष्ठ सदस्य ठाकुरसँग आग्रह गरे ।

‘तपाइँको नामै छैन माननीय सदस्य’–ठाकुरले भने–‘नाम नटिपाएकाले कसरी बोल्न दिऔं ?’

‘त्यसो भए अब टिप्नोस् न सभामुख महोदय’–सांसद लिङदेनको अनुरोध थियो ।

संसद सचिवालयका कर्मचारीले हुन्छ भनिदिनोस् भन्ने सूचना दिए जेष्ठ सदस्य ठाकुरलाई ।

ज्येष्ठ सदस्य ठाकुरले ‘लौ समय पाउनुभयो’ भन्दा बैठककक्षमा हाँसोको फोहोरा छुटेको थियो ।

सभामुखको आशनमा रहेका ठाकुरको अनुमतिपछि राप्रपाका सांसद लिङ्देनले पटक–पटक ‘भ्रष्टाचार गर्नु आमाको रगत खाए बराबर’ हुने भन्दै शपथको दिन नै भ्रष्टाचार नगर्ने प्रतिज्ञा गरेको सदनलाई जानकारी गराए ।