काठमाडौं, मंसिर १३ । नेपाली सेनाले विभिन्न पदहरुको भर्तीमा अनियमितता गरेको आरोपमा १७३ जनालाई कारबाहीको फैसला गरेको छ ।
तीमध्ये १२ जना सैनिकलाई ३५ दिनदेखि ६ वर्षसम्म कैद सजाय सुनाइएको छ भने केहीलाई बर्खास्त, केहीको बढुवा रोक्का र केहीलाई सचेत गराइएको छ ।
वि.सं. २०७३ र २०७५ सालमा लिइएको सैनिक भर्तीमा भएको अनियमितता छानबिन गर्न गठित सेनाको ‘कोर्ट अफ इन्क्वायरी’ले यस्तो सजाय सुनाएको हो ।
भर्ना प्रक्रियामा २३ अधिकृतसहित १८७ जनालाई दोषी ठहर गर्दै समरी सैनिक अदालतसमक्ष सिफारिस गरिएको थियो । त्यसमध्ये चार अधिकृतसहित १४ जनाले सफाइ पाएका छन् ।
गत कात्तिक ६ गते उपरथीको अध्यक्षतामा गठन भएको ९ सदस्यीय जनरल समरी सैनिक अदालतले २३ अधिकृतसहित १७३ जनालाई दोषी ठहर्याएको हो ।
दोषीबाट तीन करोड २२ लाख ७५ हजार रुपैयाँ विगो रकम असुल गर्ने फैसला पनि गरिएको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्