
उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेषदूतले सो शिखर बैठक आगामी महिना हुने भएको बताएका हुन् ।
यी दुई देशबीच विरलै हुने भनिएको एउटा भ्रमण हालै भएको छ । सो भ्रमणबाट फर्केका दक्षिण कोरियाली राष्ट्रपति मुन–जाय इनले सो जानकारी दिएको जनाइएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले सुरक्षाको सुनिश्चितता हुन्छ भने परमाणु अस्त्र निर्माणको कार्यमा पनि पुनःविचार गरिने पनि बताएको जनाइएको छ ।
यस विषयमा पनि सो भ्रमणकाक्रममा कुराकानी भएको थियो । परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावकाबारेमा पनि त्यस भेटकाक्रममा कुराकानी भएको बताइएको छ ।
सो कुराकानीमा सो परमाणु अस्त्रको परित्याग गर्नेबारेमा आगामी दिनमा खुलेरै छलफल गर्न तयार हुनसक्ने संकेत पनि उत्तर कोरियाली नेता उनले दिएको जनाइएको छ ।
नेता किम र दक्षिण कोरियाली राष्ट्रपति इनका विशेषदूतसहितको प्रतिनिधिमन्डलबीच भएको बैठकपछि यो पछिल्लो समाचार आएको हो । उक्त प्रतिनिधिमन्डल प्योङयाङबाट सोल फर्किसकेको छ ।
पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पु¥याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाएका हुन् ।
उत्तर र दक्षिण कोरियाबीच जतिसक्दो चाँडो वार्ताको वातावरण तयार पार्न विशेषदूत त्यहाँ पुगेका दक्षिण कोरियाले बताएको छ । त्यस्तै, उत्तर कोरियाले सो भेटवार्तालाई महत्वपूर्ण भनेको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतकारूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख युइ–योङ सोमबार उत्तर कोरिया पुगेका थिए ।
उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग सोमबार साँझ भेटवार्ता गरेका थिए ।
सो भेटवार्ताकाक्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको शीतकालीन ओलम्पिक खेलकुदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुस गरिएको छ ।
उक्त खेलकुदको आयोजनापछि यी दुई देशकाबीचमा गएको करिब चार वर्षपछि पहिलोपटक उच्चस्तरीय प्रतिनिधिमन्डबीच यस किसिमको भेटवार्ता सुरु भएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्