
काठमाडौं । रुससँगको टकरावपछि युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले नेटोसमक्ष सहयोगका लागि नौसैनिक पानीजहाज आग्रह गरेका छन् ।
अघिल्लो साता रुसले अजोभ सागरमा युक्रेनका तीववटा नौसैनिक पानीजहाजलाई आक्रमण गरी नियन्त्रणमा लिएपछि राष्ट्रपति पोरोशेन्कोले नेटोसमक्ष यस्तो आग्रह गरेका हुन् ।
जर्मन पत्रिका विल्डसँगको अन्तर्वार्तामा राष्ट्रपति पारोशेन्कोले नेटोले नौसैनिक पानीजहाज पठाउनेमा आफु विश्वस्त रहेको भन्दै यसले युक्रेनको सुरक्षामा सहयोग पुग्ने बताए ।
उनले रुसले अजोभ सागरमा आफ्नो कब्जा जमाउन खोजेको आरोप लगाए ।
अब आफुहरुले रुसी आक्रामक नीति नसहने भन्दै राष्ट्रपति पोरोशेन्कोले यसपछि रुसले थप के हर्कत गर्न सक्छ भन्ने कुरा जर्मनी स्वयमले आफुलाई प्रश्न गर्नुपर्ने बताए ।
राष्ट्रपति पोरोशेन्कोको आग्रहमा कुनै प्रतिक्रिया दिइनसकेको नेटोले रुसी आक्रमणमा भने युक्रेनको पक्षमा आफ्नो पूर्ण समर्थन रहेको जनाएको थियो ।
दुई देशबीचको सम्बन्ध विग्रदै जाँदा रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले भने आगामी निर्वाचनमा आफ्नो पकड जमाउन राष्ट्रपति पोरोशेन्कोले नौसैनिक विवादलाई उचालीरहेको आरोप लगाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्