
दमौली, मंसिर १३ । तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला परेका छन् ।
एक हप्तादेखि बेपत्ता रहेका उनी बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् ।
नेपाली कांग्रेस रिसिङ गाउँपालिका–१ का सदस्यसमेत रहेका ६६ वर्षीय आले मंसिर ५ गतेदेखि बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गरे पनि फेला पर्न सकेका थिएनन् ।स्थानीयवासीले साँझ जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणको लागि दमौली अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
युवा मृत फेला
यसैगरी तनहुँको देवघाट गाउँपालिका–४ सिन्च्याङ निवासी १८ वर्षीय तीर्थबहादुर भुजेल रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
घरदेखि ३ किमी दूरीमा रहेको जङ्गलमा उनी झुण्डिएको अवस्थामा फेला परेको र सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्