
काठमाडौं, मंसिर १२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एसिया प्रशान्त सम्मेलनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकामा ट्राफिक जनशक्ति थप गरेको छ ।
महाशाखाले सम्मेलनमा आउने अतिविशिष्ट तथा विशिष्ट पाहुनाको आगमनलाई ध्यानमा राखेर देशभरका विभिन्न जिल्लाबाट १५० जनशक्ति थप गरेको हो ।
महाशाखाका प्रमुख वसन्तकुमार पन्तले अतिविशिष्ट र विशिष्ट व्यक्तिको सवारी आगमनलाई व्यवस्थित बनाउन जनशक्ति थप गरिएको जानकारी दिए ।
‘उपत्यकाको ट्राफिक व्यवस्थापनले सम्मेलनको ट्राफिक व्यवस्थापन गर्न नसक्ने भएकाले बाहिरी जिल्लाबाट जनशक्ति मगाएका हौं’–उनले भने ।
यस्तै, महाशाखाले गृह मन्त्रालयको निर्देशनअनुसार उपत्यकामा चल्ने सवारी–साधनमा मंसिर १३ देखि १६ गतेसम्म जोर–बिजोर प्रणालीसमेत लागू गरेको छ ।
महाशाखाकाअनुसार १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरका सवारी–साधन चल्न पाउनेछन् ।
अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी–साधनमा भने जोर–बिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्