१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सभामुखमा निर्वाचित भएपछि यसो भन्छन् महरा, कांग्रेसले गर्‍यो खुलेरै प्रशंसा (भिडियो)


0
Shares

महरालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसमेत समर्थन गरेपछि उनी सर्वसम्मतरुपमा सभामुख बनेका हुन् ।

शनिबार बसेको प्रतिनिधिसभा बैठकमा सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदमा कृष्णबहादुर महराकोमात्र एकल उम्मेदवारीको सूचना परेकाले उनी सभामुखमा निर्वाचित भएको घोषणा गरे ।

सभामुख पदका लागि शुक्रबार मनोनयन दर्ताको समय निर्धारण भएपनि महराकोमात्र उम्मेदवारी परेको थियो ।

शनिबारको बैठकमा पूर्वसभामुख एवं सत्तारुढ दल नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले महरालाई सभामुख बनाउन प्रस्ताव पेस गरेका थिए ।

उम्मेदवारीको प्रस्ताव पेस गर्दै नेता नेम्वाङले संविधान कार्यान्वयन र थुप्रै कानुन निर्माणको सवालमा प्रतिनिधिसभा सक्षम हुने विश्वासका साथ आफूहरुले महरालाई प्रस्ताव गरेको बताए ।

प्रस्तावको समर्थन गर्दै माओवादी केन्द्रका नेता देव गुरुङले विगतमा प्रतिनिधिसभा सन्चालनका दौरानमा गल्ती, कमी–कमजोरी हुने गरेको भन्दै संसद सबैको साझा थलो भएकाले सत्तापक्ष–प्रतिपक्ष सबैबीच एकता आवश्यक रहेकोमा जोड दिए ।

राष्ट्रपति निर्वाचनमा उम्मेदवार खडा गरेको कांग्रेसले प्रतिनिधिसभा बैठकमा भने महराको खुलेरै प्रशंसा गर्दै समर्थन गरेको छ ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संसद र सरकारमा लामो समय रहेका अनुभवी महराबाट संविधान र संसदीय संस्कारको पूर्णपालना हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।

सभामुखमा निर्वाचित भइसकेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै महराले संसदलाई निकासको थलो बनाउने भन्दै कसैले पनि अपहेलित हुनुनपर्ने गरी संसदका काम–कारबाही अघि बढाइने बताए ।

वि.सं. २०४८ मै सांसद बनेका महरा, माओवादी सशस्त्र द्वन्द्वको समयमा वार्तामा कहिले संयोजक र कहिले सदस्य भएर खटिए भने त्यसपछि बनेको हरेक संसदमा सांसद बनेका छन् ।

माओवादीभित्र सबैभन्दा बढी समय सरकारमा रहेका महरा दुईपटक उपप्रधानमन्त्री र पाँचपटक मन्त्री भइसकेका छन् । उनीसँग गृह, अर्थ, परराष्ट्र, सन्चारलगायतका मन्त्रालय सम्हालेको अनुभव छ ।

भिडियो हेर्नुहोस्