
धादिङ, फागुन २७ । अवैधानिक रुपमा सञ्चालित धादिङका बालुवा खानी स्थानीय प्रशासनले बन्द गर्न सुरु गरेको छ ।
पहिलो चरणमा स्थानीय प्रशासनले बालुवा प्रशोधनका लागि राखिएका जिल्लाभरीका सबै फिरफिरे उद्योगको विद्युत् लाइन काटिदिएको छ ।
पृथ्वी राजमार्ग क्षेत्रमा रहेका १ सय ४७ वटा बालुवा धुने फिरफिरे यन्त्र सञ्चालन गर्न जडान गरिएको सबै विद्युत् लाइन काटिएको हो ।
राजमार्ग क्षेत्रमा मात्रै ७३ वटा बालुवा धुने फिरफिरे उद्योग दर्ता छन् ।
केहीले बाहेक अधिकांशले उद्योग सञ्चालनका लागि लिनुपर्ने विद्युत् लाईन नलिई अन्य प्रयोजनका लागि लिइएको विद्युत्बाट उद्योग सञ्चालन गर्दै आएकाले लाईन काटिएको प्रशासनले जनाएको छ ।
यसैगरी गजुरी गाउँपालिकास्थित युनिक खनिज उद्योग प्रालि र गल्छी बैरेनी गाउँपालिकामा रहेको अम्लेश्वर खनिज प्रालिले सार्वजनिक र जंगल क्षेत्रबाट बालुवा निकालेर बिक्री गरेको भन्दै ती उद्योग नै बन्द गरिएको छ ।
क्रसर उद्योगहरुले मापदण्डविपरित नदीजन्य वस्तु उत्खनन् गरेको र बालुवा धुने फिरफिरेले फोहोर पानीको व्यवस्थापन नगरेको गुनासो आएपछि प्रशासनले कडा नीति अबलम्बन गरेको हो ।
धादिङमा दुई सयभन्दा धेरै बालुवा प्रसोधन गर्ने फिरफिरे उद्योग, र ३९ वटा क्रसर उद्योग सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस्