नुवाकोट, मंसिर १२ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले हेटौंडामा गत वर्ष भएको भेलाले पारित गरेअनुसारको विधान बनाउन महासमितिमा सामूहिक आवाज उठाउने भएका छन् ।
बुधबारदेखि नुवाकोटको ककनीमा सुरु गएको जिल्ला सभापतिहरुको बैठकमा उनीहरुले विधानको प्रस्तावित मस्यौदा हेटौंडा भेलाको भावनाविपरीत भएको भन्दै त्यसलाई सच्याउन दबाब दिने बताएका हुन् ।
बैठकमा बोल्ने अधिकांश सभापतिहरुले विधानमा जिल्ला सभापतिको अधिकार कटौती गरिएको भन्दै आपत्ति जनाएका छन् ।
उनीहरुले पार्टीमा गुटगत स्वार्थ हेरेर विधान बनाउन नहुने भन्दै पार्टीलाई एक बनाउन उदार हुनुपर्ने बताए ।
केन्द्रीय नेतृत्व र कार्यकर्ताबीच समन्वय स्थापित गर्ने काम जिल्ला सभापतिले गर्ने भन्दै तल्ला तहमा निर्णय गर्ने अधिकार जिल्ला सभापतिहरुलाई दिनुपर्नेमा जोड दिएको कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
बुधबार केही जिल्लाका सभापतिहरुले सामूहिक नेतृत्वमा जानुपर्ने धारणा राखेका थिए ।
सभापतिलाई शक्तिशाली बनाउने गरी विधान परिमार्जन गर्नुपर्ने भन्दै उनीहरुले बहुमतबाट निर्णय लिने प्रक्रियामा नजान ध्यानाकर्षण गराएका छन् ।
बिहीबार (भोलि)सम्म चल्ने बैठकमा ६४ जिल्लाका सभापतिहरु सहभागी छन् ।
कांग्रेस महासमिति बैठक यही मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा हुँदैछ ।









प्रतिक्रिया दिनुहोस्