विश्वासको मत माग्दै ओलीले भने– भ्रष्टहरुलाई निमिट्यान्न पार्न प्रधानमन्त्री भएको हुँ • Image Khabar Image Khabar


विश्वासको मत माग्दै ओलीले भने– भ्रष्टहरुलाई निमिट्यान्न पार्न प्रधानमन्त्री भएको हुँ


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार १६:००

विश्वासको मत माग्दै ओलीले भने– भ्रष्टहरुलाई निमिट्यान्न पार्न प्रधानमन्त्री भएको हुँ

आइतबार संसदमा सरकारलाई विश्वासको मत माग्दै ओलीले ‘भ्रष्टाचार विरोधीलाई भोट नदिएर अन्त कता मत जाला त !’ भन्दै विश्वासको मत दिन आग्रह गरे । उनले प्रतिपक्षले पनि विश्वासको मत दिन मिल्ने विश्वमै प्रचलन रहेको भन्दै विश्वासको मत दिन प्रतिपक्षसँग पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपालजस्तो देशमा कोही पनि भोकले मर्न नहुने बताए ।

आफू दमनकारी शासक नहुने भन्दै प्रधानमन्त्री ओलीले समाजका सबै तत्कालाई साथमा लिएर हिँड्ने प्रतिवद्वता प्रकट गरे ।

प्रधानमन्त्रीमा नियुक्त भएको २५ दिनपछि ओलीले संसदको बैठकबाट विश्वासका मत लिन लागेका हुन् । उनी फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।

प्रतिनिधिसभामा २७५ सांसदमध्ये एमाले र माओवादी केन्द्रसँग मात्रै १७४ सांसद छन् । त्यसैगरी राष्ट्रिय जनता पार्टीका १७, संघीय समाजवादी फोरमका १६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसदले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भएका छन् ।

यी सबै जोड्दा सरकारको पक्षमा २०८ मत पुग्छ ।

त्यसैगरी राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टीबाट चुनाव जितेका एक/एक सांसद छन् भने स्वतन्त्रबाट एक जना निर्वाचित भएका छन् । यीमध्ये वाम गठबन्धनसँग मिलेर चुनाव लडेको जनमोर्चाले सरकारकै पक्षमा मतदान गर्ने सम्भावना छ भने स्वतन्त्र सांसदले पनि सरकारलाई नै समर्थन गर्ने सम्भावना छ ।

योसँगै प्रधानमन्त्री ओली नेतृत्वको वाम गठबन्धन सरकारले तीन चौथाई भन्दा बढी सांसदको समर्थन प्राप्त गर्ने भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका जम्मा ६३ जना सांसद छन् । एक चौथाई मत पु¥याउन कम्तिमा ६९ मत आवश्यक पर्छ । प्रतिपक्षमा एक चौथाईभन्दा कम मत भएमा महाअभियोग, अविश्वासको प्रस्तावलगायतका विशेष प्रस्ताव लैजान सक्दैन ।

यसले ओली नेतृत्वको सरकार निकै शक्तिशाली हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्