१ असार २०८२, आइतबार | Sun Jun 15 2025


ठेलामा चाट बेच्ने रामबहादुर कसरी बने ‘भोलेबाबा’ ? दुई ‘पारवती’को के हो रहस्य !


0
Shares

अन्तर्राष्ट्रिय नारी दिवसका दिन फागुन २४ गते पनि तीनचार सय मानिको भीड जम्मा थियो । त्रिशूलले कोरेको ‘लक्ष्मण रेखा’ भित्र भोलेबाबा, उनका ‘पारवती’ र उनले बोलाएका मान्छेबाहेक जान निषेध थियो ।

बिहान ७ बजेतिर गोरुको गोबर फाल्न लागेका बेला भोलेबाबाका सहयोगी पाँच महिलाले करिब एक किलोमिटर बाटोमा राधा चौधरीलाई घिसार्दै यो आँगनमा ल्याइपु¥याए ।

भीडको बीचमा राखी बोक्सी भएको आरोप लगाउँदै भोलेबाबा र दुईतीन युवतीले निरन्तर कुटपिट गरिरहे । राधा चौधरीको टोलका बासिन्दालाई यो घटनाबारे थाहा थिएन ।

करिब १२ बजेतिर भोलेबाबाकी सहयोगी पारवती किस्मती चौधरीसहित १५ जना आएर राधाकै टोलमा घर भएका बालक चौधरीलाई पनि बोक्सा हो भन्दै लगे । बालक चौधरीलाई लगेको देखेपछि त्यस टोलका चार युवा भोलेबाबाको आँगनमा पुगे ।

उनीहरुले राधालाई बर्बर ढंगले कुटपिट गरेको देखे । ‘पहिले हामीलाई थाहा भएन, बालक चौधरी लगेपछि जाँदा बेहोस भएर भुईमा ढलेकी राधालाई उफ्री उफ्री लात्ताले हानिरहेका थिए । हामीले उद्धार गरेका हौं,’ १८ वर्षीय दीपक सापकोटाले भने, ‘हामी त्यहाँ नपुगेको भए राधा उनीहरुको कुटपिटबाट मर्ने थिइन् ।’

दीपकसहित खुसीराम चौधरी, सुजन चौधरी र समिर चौधरीले राधालाई उद्धार गरेका हुन् ।

पूजा गर्ने बहानामा यौन दुर्व्यवहार

भोलेबाबाले आफ्ना सहयोगी युवतीको सहयोगले १८–१९ वर्षका युवतीलाई आश्रममा बोलाई यौन दुर्व्यवहार गर्ने गरेको स्थानीयले बताएका छन् । पुजाआजाका बहानामा युवतीलाई बोलाएर भूत लागेको, बोक्सी लागेको भन्दै झारफुक गर्ने बहानामा समवेदनशील अंग समात्ने, चुम्ने गरेको स्थानीय नरेश कुँवरले बताए ।

‘आफ्ना सहयोगी किस्मती चौधरी र स्मारिका चौधरी पठाएर युवतीलाई पुजाआजा गर्न बोलाउँथे । अनि चामल फुकेजस्तो गरेर समवेदनशील अंग समात्ने, रुमालले दुवैको टाउको ढाकेर चुम्बन गर्ने गर्थे,’ उनले भने, ‘उनले एकपटक बोक्सी भएको भनेर चामल खुवाएपछि १५ दिनसम्म लगातार युवतीलाई आश्रममा आउन बाध्य पारिन्थ्यो ।’

को हुन् रामबहादुर ?

कक्षा ११ सम्म पढेका २३ वर्षीय रामबहादुर चौधरी माघ २३ गतेसम्म गाउँमै ठेलामा चाट बेच्थे ।

माघ २४ गते सपनामा शिव आएर मलाई सामान जुटाएर काम गर्न भनेका छन् भनेर फलामको त्रिशुल बनाउन लगाए । आँगनमा शिवको फोटो राखेर आफूलाई भोलेबाबा भन्दै रोग निको पार्ने दावी पनि गर्न थाले । भोलेबाबाले सबै रोग निको पार्छन् भनी सहयोगीमार्फत प्रचार गराए ।

किस्मती चौधरी र स्मारिका चौधरी उनी भोलेबाबा बनेपछि आश्रममा ‘पारवती’ भएर बस्न आएका हुन् । –नागरिक दैनिकबाट