
वासिङ्टन, असार १३ । विभिन्न ६ मुस्लिम देशसहित ८ देशका नागरिकले अमेरिका प्रवेश गर्न नपाउनेगरी अमेरिकी सर्वाेच्च अदालतले फैसला गरेलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले सो फैसलाको स्वागत गरेका छन् ।
राष्ट्रपति ट्रम्पले ट्वीट गरेर उक्त फैसलाको स्वागत गरेका हुन् ।
यस फैसलाप्रति उनले प्रसन्नता व्यक्त गरेको अमेरिकी सन्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले यो आफ्नो पुरानो निर्णयमात्र नभएर एक किमिमले भन्ने हो भने राष्ट्रपतीय निर्वाचनको एजेन्डा नै हो भन्दै उक्त निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएकोमा प्रसन्नता व्यक्त गरेका हुन् ।
यसअघिका तल्ला अदालतहरूले उक्त आदेश असंवैधानिक भनेकोमा उनले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीट अकाउन्टमा अदालतको यस फैसलालाई ठूलो सफलता हो पनि भनेका छन् ।
अहिले पनि ट्रम्प प्रशासन मेक्सिकोबाट गैरकानुनीरुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूकाविरुद्धमा कडारुपमा प्रस्तुत् भइरहेको थियो ।
राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसमा पनि संक्षिप्त प्रतिक्रिया दिनेक्रममा अदालतको आदेशको स्वागत गरेका थिए ।
उनले सो प्रतिक्रियामा भनेका थिए–‘हामी हाम्रो देशको सुरक्षाका लागि जति कडा हुनुपर्छ, त्यति नै हामीले हुन पाउनुपर्छ । आफ्नो देशको सुरक्षा हाम्रो अधिकार र दायित्व हो । त्यसैले जसरी हामी सुरक्षित हुनसक्छौं, त्यो मापदन्ड हामीले पूरा गर्न पाउनुपर्छ ।’ रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्