११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


कम्बोडियाका प्रधानमन्त्री र म्यानमारका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै


0
Shares

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारका स्टेट काउन्सिलर एवं विदेशमन्त्री आङ साङ सुकी दुईदिने नेपाल भ्रमणमा आउन लागेका छन् ।

परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी उनीहरु सद्भावना भ्रमणकाक्रममा यही मंसिर १३ र १४ गते नेपाल भ्रमणमा आउन लागेको जनाएको छ ।

भ्रमणकाक्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली र उनका समकक्षी हुन सेनबीच आपसी हित, द्विपक्षीय चासोका विषयमा विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । कम्बोडियाका प्रधानमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।

यस्तै, म्यानमारका विदेशमन्त्री सुकीले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्टेट काउन्सिलर एवं विदेशमन्त्रीको हैसियतमा भने सुकीको पनि यो पहिलो भ्रमण हो ।

नोबेल शान्ति पुरस्कार विजेताको हैसियतमा भने उनी यसअघि पनि नेपाल भ्रमणमा आएकी थिइन् । रासस