दाहालले भट्टराई, वैद्य र चन्दलाई भने–‘एकतामा आउनोस्’

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको भावना र चाहनाअनुसार पार्टी एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरेका हुन् ।
उनले कम्युनिस्ट आदर्श र विचार नै छाडेर नयाँ शक्ति नेपाल निर्माण गरेका डा. बाबुराम भट्टराईलाई पनि समयको मागअनुसार पुनः मूल घरमा फर्कन आग्रह गरे ।
अध्यक्ष दाहालले भने–‘सहिद, बेपत्ता, घाइते योद्धा, नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै एकता प्रक्रियामा आउनोस् । बिग्रिएको केही छैन । एकतामा आउनोस् । मिलेर समाजवादको यात्रा तय गरौं ।’
उनले मोहन वैद्य र नेत्रविक्रम चन्दलाईसमेत एकतामा आउन आग्रह गरे ।
संविधानले समृद्धिको मार्गप्रशस्त गरेकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
नेपाली जनताले वाम गठबन्धनलाई सुविधाजनक बहुमत दिएकाले जनअेपक्षाअनुसार सरकारले काम गर्ने विश्वास पनि उनले दिलाए ।
कार्यक्रममा नयाँ शक्ति नेपाल गोरखाका जिल्लास्तरीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष दाहालले पार्टी प्रवेश गराएका थिए । रासस