
काठमाडौं, मंसिर ११ । सरकारले निजी क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरणको व्यवस्थासहित आजबाट ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ लागू गर्दैछ ।
श्रमिकको हक, हितका दृष्टिमा निकै महत्वपूर्ण मानिएको यस कार्यक्रमलाई सरकारले निकै तामझामका साथ प्रचार गरेको छ । जबकि, यो कार्यक्रम कार्यान्वयनका क्रममा आइपर्ने चुनौतीका बारेमा सरकारले खासै चासो दिएको देखिँदैन । कार्यक्रमअन्तर्गत श्रमिकको आधारभूत तलबबाट कोषका लागि काटिने रकम र रोजगारदाता कम्पनीले नियमअनुसार उक्त कोषमा थप गरेर जम्मा गर्नुपर्ने रकमलाई कसरी व्यवस्थापन गर्नेलगायतका विषयमा ध्यान जान बाँकी नै छ ।
कार्यक्रम घोषणाको पूर्वसन्ध्यामा सरकारले विभिन्न दैनिक पत्रिकामा ‘ज्याकेट पेज’ विज्ञापन प्रकाशन गराएको छ । त्यस्तै विभिन्न अनलाइन पोर्टलमा पनि उस्तै शैलीका विज्ञापन प्रकाशन गरिएको छ ।
निर्मला हत्या प्रकरण, सुन तस्करी, यातायातको सिन्डिकेट, समयमै काम सम्पन्न नगर्ने ठेकेदारमाथिको कारवाहीजस्ता विषयमा चुकेको सरकारले अहिलेसम्म कर्मचारी समायोजनलाई टुंगोमा पुर्याउन नसक्दा प्रदेशहरुका काम कारवाहीसमेत प्रभावित भइरहेको छ । आफ्नै पार्टीको नेतृत्वमा गठित प्रदेश सरकारले समेत संघीय सरकारको आलोचना गर्न थालिसकेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त ‘खोइ कहाँ छ सरकार ?’ भनेर मुलुकमा सरकार नै नभएको अनुभूति हुन थालेको टिप्पणी गरिसकेको छ ।
यस्तो परिस्थितिमा मंगलबार राजधानीबाट प्रकाशित अधिकांश दैनिक पत्रिकामा ‘ज्याकेट पेज’ विज्ञापन दिएर सरकारले आफ्नो उपस्थिति देखाएको भन्दै सोसल मिडियामा व्यापक टिप्पणी भइरहेको छ ।
ज्याकेट पेज विज्ञापन प्रकाशित भएका पत्रिकाहरु खोजीखोजी भेला गरेर प्रयोगकर्ताहरुले ती पत्रिकामा प्रकाशित विज्ञापनका तस्वीरसहित आफ्नो असन्तुष्टि पोखेका छन् । ठूलो रकम खर्चेर विज्ञापन प्रकाशित गरी सरकारले एउटा योजनाको सुरुवातलाई नै ‘महान उपलब्धि’ का रुपमा व्याख्या गर्न खोजेको उनीहरुको भनाइ छ ।
अझ रोचक त यो छ कि, सोसल मिडियामा सरकारी तामझामको विरोधमात्र होइन, सरकारको विरोधमा उठेको प्रतिपक्षी आवाजको पनि उत्तिकै विरोध देखिएको छ । कांग्रेस नेता धनराज गुरुङले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ शुभारम्भका सिलसिलामा सरकारले गरेको प्रचारप्रति व्यंग्य गर्दै गरेको ट्वीटमा पनि सोसल मिडिया प्रयोगकर्ता उत्तिकै खनिएका छन् । यसले सोसल मिडिया ‘सबैको विरोधी’ भन्ने सन्देश प्रवाह भएको छ ।
प्रतिक्रिया दिनुहोस्