२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘एसिया प्यासिफिक समिट’मा सरकार सहयोगीमात्र : नेता नेपाल


0
Shares

काठमाडौं, मंसिर १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले यही मंसिर १५ र १६ गते काठमाडौंमा हुन लागेको ‘एसिया प्यासिफिक समिट–२०१८’मा नेपाल सरकार सहयोगीमात्र भएको दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले उक्त समिटमा नेपालको कत्ति पनि लगानी नपर्ने भन्दै ‘समिटमा सहभागी हुन आउने उच्च अधिकारीहरुलाई सुरक्षा व्यवस्था मिलाउने दायित्वमात्रै नेपाल सरकारको हो’–भने ।

‘नेपाल सरकार आयोजक होइन’–उनले भने–‘सहआयोजक पनि होइन । नेपाल सरकार सहयोगी हो ।’

युनिभर्सल पीस फेडरेसन नामक क्रिस्चियन संस्थाको अगुवाइमा हुन लागेको उक्त सम्मेलनको सर्वत्र आलोचना भएपछि आयोजक कमिटीमासमेत रहेका नेता नेपालले यस्तो बताएका हुन् ।

उक्त सम्मेलन नेपालका लागि अवसर हुने उनको तर्क थियो ।

दुईदिने सम्मेलनमा विभिन्न ४५ देशका उच्च अधिकारीहरु सहभागी हुने र शान्ति, विकास, सुशासन, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुने बताइएको छ ।